एसपी रिपोर्टर
जनकपुरधाम, साउन १५ : धनुषाको जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक व्यक्ती झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । शुक्रबार बिहान करिब साढे ४ बजेतिर हिरासतको शौचालयमा पासो लगाई आत्महत्या गरेको अवस्थामा उनी भेटिएको र आत्महत्या गरेको हुनुपर्ने धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी गराएका छन् । मृतक लक्ष्मिीनियाँ गाउँपालिका वडा नं. २ का ४० वर्षीय पल्टु रविदास रहेको समेत उनले बताए ।
शौचालयको भेन्टीलेसनमा पासो लगाएर झुन्डिएको अवस्थामा उनी फेला परेका हुन् । आफ्नै भाई विल्टु रविदाससँग घरायसी विवादमा परेर ज्यान मार्ने उद्योग र अंगभंग मुद्दामा पक्राउ परेका पल्टु माथी दुई लाख धरौटीको आर्थिक अभाव वा जेल जानु पर्ने भएपछि डर भयका कारण उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । धनुषा जिल्ला अदालतबाट दुई लाख धरौटी माग भएको र सो रकम तिर्न नसकेको कारण उनलाई थुनामा राख्न सिन्धुली कारागार पठाउन आदेश दिएको भएको थियो ।
उनलाई कारागारमा बुझाउने प्रयोजनको लागि हिरासतमा राखिएकै अवस्थामा उनले आफ्नै गन्जीको पासो बनाई झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटेको प्रहरीले जनाएको छ । यद्यपि उनका परिवारजनले भने घटना शंकाष्पद रहेको दावी गर्न थालेका छन् ।