एसपी रिपोर्टर
जनकपुरधाम, साउन ९ : जनकपुरधाम उपमहानगरपालिकाको २५ वटा वडाको त कुरै छाडौं बजारक्षेत्र पनि सफा गर्न नसक्ने उपमहानगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारी आफनो लागि भने साढे आठ करोडको भवन बनाएका छन् । एक वडा अध्यक्षका अनुसार मेयर लालकिशोर साहको कार्यकक्षको सरसजावटका लागि मात्र ३० लाख रुपैया खर्चिएको छ ।
नेपाल सरकारको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको ३ करोड तथा जनकपुरधाम उपमहानगरपालिकाको साँढै पाँच करोड गरेर ८ करोड ५० लाखको लागतमा उक्त भवनको निर्माण सम्पन्न भएको हो । यस अघि जनहितका लागि जनकपुरधामको मुख्य सरोबरहरुको सफाई तथा सौन्दर्यकरणका लागि आएको अर्वो रकम कार्यान्वयन गर्न नसकेको उपमहानगरपालिकाका नेता र कर्मचारी आफु बस्ने भवन भने बनाई छाडेका छन् ।

करिब ५ वर्षमा निर्माण भएको सो भवन भुईँ तल्लासहित ६ तल्लाको रहेको छ । ७१ वटा कोठा भएको उक्त भवनमा महिला तथा पुरुष गरेर ३२ वटा शौचालय पनि रहेको छ । तर जनकपुरधामवासी घरको अगाडिको फोहर भने उठन सकेको छैन । उपमहानगरको सवै थोक मानिने जानकी मन्दिरको प्राङ्गण देखि छेउछाउका क्षेत्र पनि फोहरले परेशान छ ।
उपमहानगरको कार्यालय पुग्ने फरक क्षमता भएकाका लागि सो भवनमा अपाङ्गमैत्री शौचालयको निर्माण गरिइएको नगरपालिका वरिष्ठ इन्जिनियर विरेन्द्र यादवको दावी छ तर जनकपुरधाम कामका लागि आउने सर्वसाधारण तथा फरक क्षमता भएकाहरुलाई दिशा पिसाव लागेको अवस्थामा कहाँ जाने कुनै व्यवस्था छैन ।
नगरपालिकाको नयाँ प्रशासनिक भवनमा चढ्नका लागि दुई वटा सिँढी निर्माण गरिएको छ भने लिफ्टको निर्माण गरिने कार्य जारी रहेको नगरप्रमुख लालकिशोर साहले जानकारी गराए तर फोहर व्यवस्थापन र ल्याण्डफिल साइटको व्यवस्था कहिले हुने मेयर साहसंग कुनै जवाफ छैन । भवनको निर्माण भएपछि यस अघि विभिन्न भवनहरु धाउदै प्रदान हुने सबै प्रकारका सेवाहरू नगरवाँसीलाई अव एउटै भवनबाट प्राप्त हुने दावी उपमेयर रिता मिश्रको छ तर लामखुट्टेबाट मुक्ति कसरी हुन्छ भन्ने प्रश्न गर्दा उनको अनुहार रातोपिरो हुन्छ ।
नयाँ भवनको निर्माण भएपछि सबै शाखाको कर्मचारीका लागि कोठा पुगेको छ । सुविधा सम्पन्न नयाँ भवनको निर्माणले नगरपालिकाले प्रदान गर्दै आएको सेवा तथा सुविधामा अझै सुधार आउने विश्वास उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहको छ तर यस्ले जनताको दैनिकीमा के फाईदा हुन्छ ? नगरवासीको प्रश्न छ ।
पुराना जीर्ण भवनहरू हटाएर सो ठाउँमा पार्कको निर्माण गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ तर त्यसमा भ्रष्टाचार हुदैन भने के ग्यारेन्टी छ ?
उपमहानगरको क्यालेन्डरमा पनि मेयर उपमेयरकै प्रचार

कुनै पनि स्थानिय तहको मासिक क्यालेन्डर त्यस ठाँउको पहिचात झल्काउने हुनुपर्दछ तर उपमहानगरपालिकाले लाखौं लाख खर्च गरि ल्याएको नयाँ वर्षको क्यालेन्डर मेयर साह र उपमेयर झाको व्यक्तिगत प्रचार समाग्री जस्तै देखिन्छ । जनकपुरधामको स्थानिय धार्मिक धरोहर, भगौलिक पहिचान र विशेषता पर्यटनका लागि केन्द्रित क्यालेन्डर ल्याउनुपर्नेमा कतै कतै उपमेयर र कर्मचारीको तस्वीर राखेर मेयर साहले आफनो मात्र प्रचार गर्ने गरि महंगो क्यालेन्डर छपाएका छन् ।

क्यालेन्डरको पहिलो पानामा मेयर साह मात्रको एकल तस्वीर छ त्यसपछि मात्र मासिक क्यालेन्डरको सुरुवात गरिएको छ । मेयर साहको यस्तो व्यक्तिगत प्रचार प्रसारको सवत्र आलोचना भइरहेको छ । जनक भवन नामांकरण गरि सञ्चालनमा आएको भवनले मेयर उपमेयर र कर्मचारी सहित प्रशासनिक कार्यमा सहजता भएपनि जनताले दैनिक जिवनयापनमा महशुस गर्न सक्ने काम हुन्छ कि हुदैन भन्ने प्रश्न छ ।