एसपी रिपोर्टर
जनकपुरधाम, साउन ७ : महोतरी भंगहा नगरपालिकाका मेयर संजिव कुमार साहले नगरपालिका सञ्चालनका लागि आफनो शानदार घर जग्गा निःशुल्क प्रदान गरेका छन् । उनले यस अघि भाँडामा सञ्चालन हुदै आएको नगरपालिकाको कार्यपालिकालाई वडा नं. ५ स्थित आफनो करिव चारकठ्ठा जग्गामा रहेको दुईवटा ठुला घरहरु निःशुल्क प्रदान गरेको छ ।
उनका अनुसार सो घर उनले आफनो कार्यकाल अवधीका लागि मात्र नभई अगामि चुनावमा आफु जितेर आएपनि र नआएपनि नगरपालिकाको आफनै भवन नबनुञ्जेल सम्म सो सम्पती नगरपालिकालाई प्रयोग गर्न दिइएको हो । यस अघिको भाडाँको भवनमा प्रति महिना ५७ हजार रुपैया भाँडा तिरेर नगरपालिकाको कार्यालय सञ्चालनमा रहेकोमा अव सो रकम बचत हुने भएको छ ।

उनले प्रदान गरेको दुई तल्ले पक्की भवन र त्यसकै छेउमा रहेको करिव १० कोठाको लामो भुईतल्ले घरले नगरपालिकाको सवै शाखाको कार्यसम्पादनमा सहजता मिलेको छ । बजारकै छेउमा खुल्ला स्थानमा रहेको घरमा कार्यालय सञ्चालनमा आएपछि कर्मचारीहरु पनि खुसी व्यक्त गरेका छन् ।

तत्कालिन राजपाबाट निवार्चित मेयर साह त्यस क्षेत्रका प्रखर युवा नेता हुन । विद्यार्थीकाल देखि नै मधेश र मधेश आन्दोलनमा सक्रिय उनी गत निर्वाचनमा टिकट पाएर मेयर जितेका हुन । नगरपालिकामा उनको जात (थर) औलामा गन्न सक्ने केहि घर परिवार मात्र रहेपनि उनले आफनो लगनशिलता र सक्रियताका कारण चुनाव जित्न सफल भएको स्थानियको भनाई छ ।