एसपी रिपोर्टर
काठमाण्डौं, असार २९ : सर्वोच्चको परमादेशबमोजिम राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त भएर शेरबहादुर देउवाले साँझ ६ बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरेपछि देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको विज्ञप्ति सार्वजनिक गर्ने राष्ट्रपति कार्यालयको तयारी छ ।
‘प्रधानमन्त्री ओलीको सम्बोधनपछि विज्ञप्ति सार्वजनिक हुन्छ,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो । यदि अहिले नै नियुक्ति हुने हो भने ओलीले प्रधानमन्त्रीका रूपमा सम्बोधन गर्न मिल्दैन । सोही कारण ओलीको सम्बोधन सकिएपछि विज्ञप्ति सार्वजनिक गर्ने राष्ट्रपति कार्यालयको तयारी छ ।
कांग्रेस सभापति देउवा यसअघि चारपटक प्रधानमन्त्री बनेका थिए । २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका देउवा २०५९, ०६१ र २०७४ सालमा प्रधानमन्त्री बनेका थिए । देउवाको नेतृत्वमा २०७४ सालमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएको थियो । प्रधानमन्त्री देउवा सहित कांग्रेसबाट ज्ञानेन्द्र बहादुर कार्की, माओबादीबाट नारायणकाजी श्रेष्ठ तथा जसपाबाट उपेन्द्र यादव मन्त्री बन्ने चर्चा छ ।