एसपी रिपोर्टर
जनकपुरधाम, असार २९ : देशमा तिन तहको सरकार छ । तिनै तहको सरकारले सबै भन्दा कम रकम पाँच लाखको कोटेशनमा धमाधम कामहरु गर्ने गरेको छ तर पाँच लाखमा भएको सरकारी काम कति र कस्तो हुन्छ भन्ने कुरा तपाँई हामी संग लुकेको कुरा होइन । पाँचलाखमा केहि ट्रयाक्टर माटो झार्ने वाहेक अरु कुनै काम हुदैन केहि दिन पछि ति माटो कता हराएर जान्छ कसैले थाहा पनि पाउदैनन । तर आज यहाँ यस्तो उदाहरनीय काम प्रस्तुत गरेका छौं जस्ले वास्तवमै गर्न चाहे बजेट र रकमले मात्र केहि नहुने प्रमाणित गर्दछ ।
जनकपुरधामका मात्र १९ देखि २४ वर्ष उमेर समुहका १५ जना युवाहरु मिलेर बनाएको महामारी नियन्त्रण तथा व्यवस्थापन समिति (पिसीएमसी) ले मात्र ३ लाख ८० हजारमा पाँच हजार भन्दा बढी भोकालाई अण्डा र मासु सहितको खाना, २ सय २३ भन्दा बढीलाई खाद्यान्न समाग्री राहत, १७ भन्दा बढीलाई औषधी, क्रमश १७ र २१ जना भन्दा बढीलाई एम्बुलेन्स र रक्त आपुर्तीको सेवा प्रदान मात्र गरेको छैन पत्रकार सम्मेलन गरि सवै हरहिसाव पार्दर्शी समेत गरेका छन् ।

उनीहरुले यस्तो गरिरहँदा सवैको ध्यान तानेका छन् । उनीहरुले दोस्रो चरणको कोरोना महामारीमा कुल ४६ दिन काम गरेको समयमा विभिन्न दाताहरुबाट कुल ४ लाख ८७ हजार ७० रुपैया नगद रकम आर्थिक सहयोग प्राप्त गरेकोमा ४ लाख ४९ हजार ८ सय ३५ मात्र खर्च गरि त्यती धेरै काम गरेका छन् । त्यसमा पनि खर्च गरेको यस रकममा ७० हजार रुपैया समितिका एक सदस्य अक्षय अधिकारीको दुर्घटनामा भएको उपचार खर्चमै गएको देखिन्छ अर्थात उनीहरु ३ लाख ८० हजारमै यति काम गरेका रहेछन ।
उनीहरुका सहयोगी र सल्लाहकार समाजसेवी कृष्णचन्द्र साहले युवाहरुले उमेर अनुसारको आफनो अनुभव तथा संकलित न्युन रकमको हिसाव गरेको काम उत्कृष्ट रहेको बताउदै प्रशंसा गरेका छन् । साहले भने, ‘१५ जना कसैलाई थाकेको मैले सुनिन, जति बेला जहाँ बोलाउँदा पनि तुरन्त पुग्ने जोस उनीहरुमा छ, अव उनीहरुले समाजका लागि ठुला स्तरको काम गर्नपर्दछ ।’

समितिका संयोजक कैयुम राइनले आफुहरु यो काम परिक्षणको रुपमा गरेको बताउदै अव अनुभव र सफल भएपछि समाजसेवाको विस्तारित काम सहित आउने बताए । पत्रकार सम्मेलनमा उपस्थित भर्खरका युवाहरु आकाश साह, विकास साह, आनन्द मिश्र, शिवेन्द्र साह, अभिशेष झा र सलामत राइन सहितकाहरु पत्रकार सम्मेलनमा समेत आ–आफनो काम र जिम्मेवारीमा प्रतिवद्व देखिए ।
संयोजक राइनका अनुसार यस परोपकारी काममा उनीहरुलाइ अमेरिका स्थित मधेशीहरुको संस्था माँ, एन्टा र एमआरएफ सहितका अन्तराष्ट्रिय संघ संस्थाले सहयोग र हौसला प्रदान गरेको हो ।