एसपी रिपोर्टर
जनकपुरधाम, असार १६ : सिरहाको चोहर्वास्थित नेपाली सेनाको २७ नम्बर बाहिनीका सहायक रथी हेमराज केसीले धनुषाका एसपी प्रकाश रानाभाट, सरकारी वकिल सिताराम अर्याललाई दबाब र प्रभावमा पारेर ठगी मुद्दाका अभियुक्त प्रेमकुमार मल्ललाई उन्मुक्ति दिन सक्रिय रहेको आरोप लागेको छ ।
सम्धी नाता पर्ने मल्ललाई उन्मुक्ति दिलाउन सहायक रथी केसीले ‘सेटिङ मिलाउन’का लागि गरेको कुराकानीको अडियोसमेत सार्वजनिक भएको छ । मल्लविरुद्ध ठगी मुद्दामा गएका उनका व्यापारिक साझेदारले भने रकमको चलखेल गरेर छुटाइएको आरोप लगाएका छन् ।
ठगी मुद्दा खेपिरहेका ललितपुर सानेपाका मल्ल प्रेरा निर्माण सेवाका सञ्चालक हुन् । व्यापारिक साझेदार राजकिशोर गुप्तासँग ठगी मुद्दा खेपिरहेका मल्ललाई केसीले प्रहरी प्रमुख र सरकारी वकिलसँगको मिलेमतोमा स्वास्थ्यको कारण देखाउदै छुटाएको आरोप ‘पीडित पक्ष’ले लगाएको छ ।

ठेकेदार मल्ल आइतबार सहायक रथी केसीको सम्पर्कमा आएका थिए । बुधबार प्रहरी कार्यालयबाट उन्मुक्ति पाएका मल्ल मंगलबार राति सहायक रथी केसीकै घरमा बसेका थिए । प्रहरी कार्यालयमा कागज मिलाउँदा भने मंगलबार राति मल्ललाई प्रहरी हिरासतमा राखिएको भनिएको छ ।
कागजमा स्वास्थ्यलाई कारण देखाउँदै मल्ललाई छाडिएको उल्लेख छ । धनुषाका एसपी एसपी प्रकाश रानाभाटले भने, ‘स्वास्थ्यका कारण जिल्ला जमानीमा मल्ललाई छाडेका छौं । यो विषयमा यसभन्दा धेरै बोल्न मिल्दैन ।’
सहायक रथी केसीको शंकास्पद व्यवहार
फरार अभियुक्त मल्ललाई केसीले आफ्नै गाडीमा राखेर दलबलसहित जनकपुर ल्याएका थिए । जनकपुर आएपछि उनी सिधै सरकारी वकिलको कार्यालय छिरे । मल्ल जिल्ला प्रहरी कार्यालयसमेत पुगेनन् । वकिलको कार्यालयबाट सहायक रथीकै गाडीमा बसेर जनकपुरस्थित नेपाल राष्ट्र बैंक गए । त्यहाँ खाजा खाएर महेन्द्रनगरस्थित सेनाको गण पुगे । त्यसपछि उनी बर्दिबासतिर लागेका थिए ।

तर एसपी रानाभाटले मल्ललाई प्रहरी कार्यालयमा हाजिर भएपछि सरकारी वकिलको कार्यालय पठाएको दावी गरेका छन् । उनले थप कुरा बुझ्न डिएसपी मकेन्द्र मिश्रसँग कुरा गर्न भने । डीएसपी मिश्र भन्छन्, ‘यो मुद्दामा मलाई केही थाहा छैन ।’ यो मुद्दामा एसपी रानाभाट र डीएसपी मिश्रबीच समेत मनमुटाव भएको स्रोतले जनाएको छ ।
के हो विवाद ?
ठेकेदार मल्लले जनकपुरका गुप्तासँग मिलेर ठेक्कापट्टा गर्दै आएका थिए । तीन वर्षअघि गुप्ताले जनकपुरस्थित थापा चोकको २२ धुर जग्गा मल्लको नाममा पास गरिदिए । व्यवसायका लागि २ करोड लगानी गर्न मल्लको नाममा पास गरिएको उक्त जग्गा सम्झौताविपरीत बेचेको भन्दै मल्लमाथि गुप्ताले प्रहरीमा ठगी मुद्दा दर्ता गराएका थिए । ‘फिर्ता गर्ने सर्तमा विश्वास गरेर मल्लको नाममा जग्गा पास गरिदिएका थियौं’, गुप्ताले भने, ‘तर मलाई जानकारी नै नदिएर जग्गा बेचिएछ । अहिले म घर न घाटको भएको छु ।’ अहिले उक्त जग्गाको मूल्य करिब १० करोड रूपैयाँ बराबरको भएको गुप्ताले बताए ।
प्रधानमन्त्री केपि शर्माओलीकै क्षेत्र दमक नगरपालिकामा एडिबीको करिव ७० करोडको काम दुवैजनाले मिलेर मल्ललाई ५५ र गुप्तालाई ४५ प्रतिशत दिने सहमतीमा गरेको तर पैसा नदिएपछि गुप्ताले प्रशासन र नगरपालिकालाई समेत गुहारेका रहेछन । त्यसपछि नगरपालिकाको पहलमा वडा अध्यक्षको नेतृत्वमा गठित १७ सदस्सीय छानविन समितिले समेत गुप्तालाई छ करोड रुपैया दिन पर्ने निर्णय गरेको कागजात गुप्ता संग छ । मल्लले पछि ८६ लाख रुपैया समेत बुझाएको देखिन्छ ।
मुद्दा खारेजीको तयारी
स्रोतका अनुसार सरकारी वकिल कार्यालयले मल्लमाथि चलेको ठगी मुद्दा खारेज गर्न खोजेको छ । ठगी मुद्दा चलेपछि ठेकेदार मल्लको सम्पत्ति र बैंक खाता प्रहरीले रोक्का गरेको छ । त्यसैले मुद्दा खारेज गर्न लगाएर सम्पत्ति र बैंक खाता फुकुवा गराउन मल्ल लागिपरेका छन् । ‘मुद्दा खारेज गर्न ठूलो रकमको चलखेल भएको छ’, गुप्ताले भने, ‘अदालतबाट न्याय पाउँछु भन्ने विश्वास थियो । तर सहायक रथीले एसपी र सरकारी वकिलसँग मिलेर अन्यायमै पार्ने सम्भावना बढेको छ ।’
सेनाकै गाडीमा जर्नेल केसी मल्ललाई छुटाउन आएपछि गुप्ता र जर्नेलबीच भएको टेलिफोन संवाद बाहिरिएको छ । जसमा जर्नेल केसीले गुप्तालाई बसेर विवाद समाधान गरौं भन्दै आफूलाई भेट्न आग्रह गरेका छन् । जर्नेलले भनेका छन्, तपाईंहरू आपसी विवाद बसेर मिलाउनुस् भनेकै हो । अहिले पनि म सरकारी वकिलकोमा छु यतै आउनुस्, मलाई भेट्नुस्, पत्रपत्रिकाहरूमा जानु पर्दैन, फोनमा कुरा नगरौं, यही आउनुस् ।’ यसैबीच नेपाल प्रेसको सम्पर्कमा आएका सहायकरथी केसीले भने यस विषयमा आफूले कुरा नगर्ने प्रतिक्रिया दिए ।
पिडित गुप्ता र केसी बिचको अडियो वार्तालाप
प्रेस नेपाल डटकमको सहयोगमा