एसपी रिपोर्टर
जनकपुरधाम, चैत ११ : कोरोना भाइरसलाई ध्यानमा राखी प्रदेश २ सरकारले सामाजिक विकासमन्त्री नवलकिशोर साहको नेतृत्वमा प्रदेशस्तरीय व्यवस्थापन समिति गठन गरेको छ । समितिका सदस्यहरूमा सामाजिक विकास मन्त्रालयका सचिव र महाशाखा प्रमुख पनि रहेका छन् । सदस्य सचिवमा स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झा, सदस्यहरूमा प्रादेशिक अस्पतालका डाक्टर जामुन सिंह, सुरक्षा निकायका प्रमुखहरू, उपमहानगरपालिकाका मेयर लालकिशोर साह, धनुषाका प्रमुख जिल्ला अधिकारीसहित १२ जना छन् । जनकपुरधाममा मंगलबार बसेको बैठकले प्रदेश २ मा कोरोना संक्रमित देखिए उनीहरूको उपचारका लागि केन्द्र पनि तोकेको छ ।
जसअनुसार जानकी मेडिकल कलेज रमदैयामा सप्तरी, सिरहा, धनुषा र महोत्तरीका रोगीहरूलाई राखिने छ । त्यस्तै, रौतहट, पर्सा, बारा र सर्लाहीका रोगीहरूलाई वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा राखेर उपचार गरिनेछ । त्यसैगरी, क्वारेन्टाइन केन्द्रहरू पनि तय गरिएको छ । बैठकले सर्लाही, रौतहट, बारा र पर्साका व्यक्तिलाई वीरगञ्जस्थित केडिया डेन्टल कलेजमा राख्ने जनाएको छ । त्यस्तै, जनकपुरधाममा मिथिला आयुर्वेद कलेज तथा अनुसन्धान केन्द्र, रुपनीस्थित प्रहरी अस्पताल, गौरस्थित गौर नर्सिङलाई पनि क्वारेन्टाइन केन्द्र तोकिएको छ । बैठकले जनकपुरधामस्थित मणिपाल मेडिकल कलेजको भवन तत्काल मर्मत सम्भार गरी क्वारेन्टाइनका लागि तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । प्रदेश २ सरकारले सीमामा अलपत्र परेका नागरिकलाई जिल्ला प्रशासन कार्यालयको समन्वयमा शंकास्पद भए प्रदेश क्वारेन्टाइनमा र सामान्यलाई होम क्वारेन्टाइनमा राख्ने जनाएको छ । यसका साथै बैठकले जिल्ला अस्पतालहरूलाई कम्तिमा १० बेडको ट्रान्जिट आइसोलेशन वार्ड बनाउन भनेको छ । प्रदेश २ सरकारले स्वास्थ्यकर्मीलाई आवश्यक पर्न मेडिकल सामग्रीहरू पीपीई ८ हजार थान, थर्मल गन सय थान, एन ९५ मास्क १५ सय थान, सर्जिकल मास्क १० हजार, ग्लोब्ज ५० हजार, डिस्इन्फेक्टेन्ट स्प्रे दुई सय थानसहितका लागि प्रदेशस्तरीय दातृ निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ । त्यसैगरी कोभिड १९ का लागि तत्काल बी.एस.एल. ल्याब सञ्चालनमा ल्याउने तयारी गर्नेसमेत बैठकले गरेको छ ।