एसपी रिपोर्टर
जनकपुरधाम, असार १४ : मुख्यमन्त्री लालबाबु राउत आफु नेतृत्वको सरकार बचाउन नेपाली कांग्रेसको बैशाखी त टेके तर कांग्रेसी मन्त्रीहरु राउतको पार्टीलाई नै अपमान हुने कार्यहरु धमाधम गर्न थालेपनि राउत चुप छन् । कांग्रेसको नेतृत्व गर्दै सरकारमा दोस्रो वरियता सहित भौतीक पुर्वाधार मन्त्री बनेका संसदिय दलका नेता रामसरोज यादवले आफनो कार्यकक्षबाट मधेश आन्दोलनका शहिदहरुको तस्वीर हटाइ दिएका छन् ।
मधेश आन्लोलन र आन्दोलनका शहिदहरुको बलिदानीकै बलमा मुख्यमन्त्री बनेका राउतकै एक मन्त्री शहिदहरुको तस्वीर कार्यकक्षबाट हटाएपछि एक्सन लिनु पर्ने मधेशका जानकारहरु बताउछन् । मन्त्री कुनै पार्टीको होइन एक नेताले भने, ‘मन्त्री यादवले शहिदहरुको अपमान गरि कुनै पार्टी विशेषको काम गरेका छन् ।’ मुख्यमन्त्रीसंग सवै थोक हेरेर बस्नुको विकल्प नरहेको समेत उनको तर्क छ ।
पार्टीमै घेराबन्दीमा रहेका राउत कांग्रेससंग मनमुटाब गर्ने पक्षमा नरहेको उनीहरुको तर्क छ । मन्त्री यादवले पनि गलत गरेको उनीहरुको आरोप छ, ‘पार्टीकै नेताहरुको तस्वीर राख्नुनै थियो भने छेउमा थप्न सकिन्थ्यो तर यो गलत भयो ।’ उनीहरुले भने । मन्त्री यादवका स्वकीय सचिव धिरेन्द्र मोहन झाले मन्त्रीको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो पहिलेदेखि नै नरहेको जानकारी दिए । उनले पहिलेदेखि नै रहेको सहिदहरूको तस्बिर नहटाइएको र चारवटा फोटो थप गरिएको दावी गरे ।
सहिदको तस्बिरलाई सोही कोठाको अन्य भित्तामा राखिएको उनले जानकारी दिए। यसअघि सोही मन्त्रालयका मन्त्री रहेका जितेन्द्र सोनलले आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राखिएको वा नराखिएको भन्ने विषयमा आफूलाई स्मरण नरहेको बताए ।