एसपी रिपोर्टर
जनकपुरधाम, असार १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई प्रतिगमनको संज्ञा दिदैँ संयुक्त विद्यार्थी संगठनले जनकपुरधाममा विरोध प्रदर्शन गरिरहदा एमालेको युवा संगठन युवा संघ प्रतिकारकै शैलीमा उत्रेका छन् । ओलीले प्रतिगामी कदम चालेको भन्दै विपक्षी ५ दलीय गठबन्धनका भ्रातृ संगठनहरुले संयुक्तरुपमा शनिबार जनकपुरधाममा नगर प्रदर्शनसँगै नाराबाजी गरिहँदा युवा संघ प्रतिकार गर्ने प्रयास गरेको हो ।
जनकपुरधामको रेल्वे स्टेसनबाट निस्केको जुलुसले नगर प्रदर्शन गरिरहँदा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध चर्का नाराबाजी गरेका थिए । सो क्रममा नेकपा एमालेको ओलीनिकट राष्ट्रिय युवा धनुषाले भने विद्यार्थीहरुले गरेको प्रदर्शनको प्रतिकारमा उत्रेका थिए । प्रधानमन्त्री ओलीको आलोचना गरेको भन्दै युवा संघ आक्रोसित हुदै विद्यार्थीहरुले गरेको प्रदर्शनमाथि प्रतिकारको प्रयास गरेका छन् यद्यपि प्रहरीले झडप हुन भने दिएन ।

ओली समुह संयुक्त विद्यार्थी संगठनको प्रदर्शन विरुद्ध प्रतिकारमा उत्रेपछि अवस्था निकै तनावपूर्ण बनेको थियो । प्रहरीको बाक्लो उपस्थिति र कडा सुरक्षाका कारण झडप हुन पाएन । विपक्षीहरुको जुलुशलाई निष्तेज गर्न युवा संघ लडाइ गर्ने शैलीमै सडकमा उत्रेको देखियो । एकातर्फ केपि ओली मुर्दावादको नारा थियो भने अर्को तर्फ केपि ओली आई लभ यु गञ्जमान थियो बिचमा लठ्ठी सहित प्रहरी पर्खाल बनेर उभिएको देखिन्छ ।
आजको प्रदर्शनमा अखिल क्रान्तिकारी धनुषा, माधव नेपाल पक्षधर अनेरास्ववियू धनुषा, नेविसंघ धनुषा र समाजवादी विद्यार्थी संघ धनुषा लगायत विद्यार्थी संगठन सहभागी थिए ।