एसपी रिपोर्टर
जनकपुरधाम, असार ६ : कोरोना महामारीका कारण यस वर्षको पनि गंगा दशहरा प्रभावित भएको छ । प्रत्येक वर्ष गंगा दशहराका दिन मनाइने महागंगा आरतीको वार्षिकोत्सव यस वर्ष पनि प्रभावित भएको छ । यस वर्ष सातौ वार्षिकोत्सव मनाउने तयारी थियो तर कोरोना महामारीका कारण लगातार दुई वर्ष देखि वार्षिकोत्सव कार्यक्रम प्रभावित भइरहेको छ ।
२०७० साल फागुन ११ गते शनिवारबाट जगत जननी माता जानकीको जन्म स्थल जनकपुरधामको पवित्र सरोवर गंगासागरको सरसफाई सुरु भई २०७१ साल जेठ २५ अर्थात गंगा दशहराकै दिन गंगासागर किनारामा महागंगा आरती सुरु भएको थियो । महागंगा आरती जनकपुरधाम मात्र नभई नेपाल तथा अन्तराष्ट्रिय जगतमै चर्चा पाइसकेको छ । जनकपुरधाम आउने आन्तिरक तथा बाहिरी पर्यटकका लागि महागंगा आरती आकर्षणको केन्द्र बनिसकेको छ ।
यस वर्ष कोरोना महामारीका कारण वार्षिकोत्सव विधि विधान पुरा गरि सिमित तरिकाले गरिएको महागंगा आरतीको आयोजक शेभ द हिस्टोरिकल जनकपुरका संस्थापक रामअशिष यादवले बताए ।
दशरथ तलाउमा विशेष आरती
गंगा दशहराका दिन आज जनकपुरधामको दशरथ तलाउमा विहान विशेष स्नान तथा साँझ विशष आरतीको आयोजना गरिएको छ । प्रत्येक वर्ष गंगा दशहराका दिन तलाउमा केहि वर्ष एता श्री दशरथ युवा कमिटिको आयोजनमा यस्ता विशेष आरती र दिप प्रज्वलनको आयोजना हुदै आएको छ ।
कमिटिको आयोजनामा आज पनि प्रदेश २ प्रमुख डा. राजेश अहिराज र मुख्यमन्त्री स्वच्छता अभियानका प्रमुख सिडिई भगवान झा र जनकपुरधाम उपमहानगर प्रमुख लालकिशोर साहको विशेष उपस्थितीमा दिप प्रज्वलन र आरतीको आयोजना गरिएको छ । सो अवसरमा वक्ताहरुले जनकपुरधामका युवाहरु सांस्कृतीक धार्मिक धरोहरहरुको संरक्षण गरिरहेको भन्दै प्रशंसा गरेका थिए ।
तिन दिवसीय कार्यक्रमको पहिलो दिन सरसफाई र दोस्रो दिन तलाउको चारैवटै कुनामा वृक्षारोपण गरिएको कमिटिका अध्यक्ष लव कुमार झाले बताए । कार्यक्रममा कार्यक्रम संयोजक गणेश गुप्ता (जोगी), नविन झा, शौरभ संगम, जितेन्द्र साह,
धवेन्द्र रौनियार, संजय साह, रितेश चौधरी र नजामुदिन सहितको उपस्थिती थियो ।