एसपी रिपोर्टर
जनकपुरधाम, असार २ : नव नियुक्त संस्कृती पर्यटन तथा नागरिक उडयन मन्त्री उमाशंकर अरगरिया जनकपुरधाम आँउदा न्यानो स्वागत गरिएको छ । उनलाई जनकपुरधामका युवाहरुले एक सय एक किलोको माला लगाएर स्वागत गरेका छन् ।
स्वागत गर्नेमा जसपा ठाकुर पक्ष देखि एमाले र अन्य विभिन्न दलका युवाहरु समेतको सहभागिता देखिएको छ । मन्त्री अरगरियालाई गृहजिल्ला धनुषामा १०१ किलोको मालाले स्वागत गरिएको छ । उनी मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला आएका हुन् ।
जनकपुरधाम प्रवेश गरेलत्तै मन्त्री अरगरियालाई जसपा नेता, कार्यकर्ता र समर्थकले भव्य स्वागत गरियो । हंसपुर नगरपालिका ६ सोनिगमाका जसपाका युवा नेता राजेश यादवले मन्त्री अरगरियालाई १०१ किलोको मालाले स्वागत गरे ।
युथ एक्सन फोर्स, जनकपुरका अध्यक्ष एवं युवा नेता प्रशान्त झा र नेकपा एमालेका भाृत संगठन यूवा संघसँग आवद्ध युवाहरु पनि मन्त्री अरगरियालाई स्वागत गरेका छन् । आजै जनकपुरधामको जानकी मन्दिरमा विशेष पुजा पाठ र दर्शन गरेका मन्त्री अरगरियाले भोली प्रादेशिक अस्पताल जनकपुरलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
युवा अभियन्ता देखि मन्त्री सम्मको यात्रा
जनकपुरधामको युवाहरुसंगै काम गर्दै गर्दा सांसद भएका युवा नेता अहिलेको संघिय सरकारको मन्त्री परिषदमा पर्यटन तथा नागरिक उडयन मन्त्री बन्न सफल भएका छन् । तत्कालिन समाजवादी पार्टीबाट आम निर्वाचनमा धनुषाको क्षेत्र नं. २ को प्रतिनिधीसभा सदस्य निर्वाचित भएका अरगरियाको जनकपुरधाममा बेग्लै छबि छ ।
निलम्बित सांसद संजय साहसंग राजनितिको दाउपेच सिकेका अरगरिया सांसद निर्वाचित भएपछि पार्टीको सेचतक बनाइए । उनलाई सचेतक त बनाइयो तर उनको पार्टीमा केहि चल्थिएन । त्यसपछि पार्टी केपि ओलीको नेतृत्वको सरकारमा सहभागि हुँदा उनलाई मन्त्री बन्ने रहर थियो तर बनाइएन त्यसपछि उनी पार्टी अध्यक्ष उपेन्द्र यादवसंग रुष्ट भए ।
करिव एक वर्ष अगाडि ओलीले पार्टी विभाजन सम्बन्धि विद्येयक ल्याउँदा डा. सुरेन्द्र यादव, तत्कालिन सहरी बिकास मन्त्री इस्तियाक राय संगै पार्टी फोडेर मन्त्री बन्ने हल्ला र सांसद अपहरणमा संलग्न रहेको आरोप समेत खेपेका अरगरिया अन्तत जसपा ठाकुर पक्ष सरकारमा जान लाग्दा ठाकुर पक्षबाट मन्त्री बनेका हुन ।
जसपा मात्र होइन एमालेको पनि माया
उनी जसपाबाट मन्त्री बनेपनि उनको भागमा पर्यटन मन्त्री पर्नुमा एमालेको पनि हात छ । एमालेको एक हिस्सा अरगरियालाई एमालेसंग नजिक गर्न उनलाई एकाएक पर्यटन मन्त्री बन्न सहयोग गरेको एमाले स्रोतको दावी छ । उहाँ त उहिलै नै एमाले हुनुहुन्थ्यो एक नेताले भने, ‘तर प्राविधिक कारणले गर्दा अहिले जसपाबाटै मन्त्री बनेपनि पर्यटन मन्त्री पाउनुमा हाम्रो पार्टीको सहयोग र माया छ ।’ जसपाका राजकिशोर यादवलाई समेत मन्त्री बनाउनमा ओलीका सहयोगीहरुकै पनि हात रहेको एमाले स्रोतको दावी छ ।