एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ३० : प्रदेश २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ले मन्त्रिपरिषद समावेशी नभएको भनी पत्र लेख्नुलाई मुख्यमन्त्री लालबाबु राउतले सामान्य भएको प्रतिक्रिया दिएका छन् । प्रदेश प्रमुखले सरकार समावेशी भए राम्रो हुन्छ भन्नुलाई अन्यथा भन्न नमिल्ने उनले बताए । ‘संविधानले उहाँ (प्रदेश प्रमुख) लाई एउटा जिम्मेवारी दिएको छ । त्यही अनुसार उहाँले सरकार समावेशी भए राम्रो हुन्छ भन्नुभएको छ । उहाँको कन्सर्न राम्रै हो । यसलाई स्वागत गर्दछु’ मुख्यमन्त्री राउतले भने ।
प्रदेश प्रमुखले स्मरणपत्र बुझाएपछि के गर्नुहुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘उहाँले ध्यानआकृष्ट गराउनुभएको छ । ध्यानआकृष्ट भएको छ ।’ जेठ २८ गते प्रदेश २ का प्रदेश प्रमुख झाले मुख्यमन्त्री राउतलाई पत्र लेखी संविधानले परिकल्पना गरेको समानुपातिक समावेशीको व्यवस्था अनुसार नै मन्त्रिपरिषद गठन गर्नुपर्ने बताएका थिए । उनले महिला, दलित, जनजाति, शहीद परिवार, गैरमधेसीको पनि समानुपातिक समावेशी प्रतिनिधित्व गराउन सुझाव दिएका थिए ।
मुख्यमन्त्री राउतले संविधानले व्यवस्था गरेको समानुपातिक समावेशी व्यवस्था प्रधानमन्त्री केपी शर्मा ओलीको हकमा पनि लागु हुनुपर्ने बताए ।
‘तपाईंले हेरिराख्नुभएकै छ संघीय सरकार र अन्य प्रदेशहरुमा पनि त्यस्तै छ । हरेक निकायमा समावेशी समानुपातिक, विभिन्न उत्पीडनमा रहेका समुदायहरुको सरकारमा प्रतिनिधित्व हुनुपर्छ । यो त ंएउटा वैधानिक प्रावधान नै हो’ मुख्यमन्त्री राउतले भने । उनले अघि भने, ‘माथि लागू हुनुपर्दैन ? ओलीजीका लागि अर्काे कानुन हो ?’