एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २९ : प्रदेश २ मा महिलालाई मन्त्री नबनाएको भन्दै प्रदेशसभामा प्रश्न उठेको छ । हालै नेपाली कांग्रेसलाई सहभागी गराएर प्रदेश सरकार विस्तार गरिएको छ । कांग्रेसबाट तीन जना मन्त्री बने पनि महिलालाई जिम्मेवारी दिइएको छैन ।
शनिबारको प्रदेशसभा बैठकमा बोल्दै एमाले सांसद मन्जु यादवले महिलालाई ५० प्रतिशत आरक्षण दिने घोषणा भएको प्रदेशमा नै महिलालाई पछाडि पार्न खोजिएको बताइन् । ‘यो प्रदेशमा सक्षम महिला सांसद छैनन् ? मन्त्रिपरिषद्मा कुन नीतिबाट महिलालाई वञ्चित गरिएको हो, त्यसको जवाफ दिनुपर्दैन ?’
हरेक अधिकारको आन्दोलनमा महिला कुचो र ढुंगा बोकेर आएको भन्दै सांसद यादवले पुरुष सांसदप्रति लक्षित गर्दै भनिन्, ‘तपाईंहरुलाई लाज लाग्दैन् ?’ उनले मधेशका महिला गुलामी गर्न मात्रै राजनीतिमा नआएको बताइन् । प्रदेश २ सरकार केहि जातीको मात्र रहेको संविधानतः नरहेको आरोप लाग्न थालेको छ ।
प्रदेशमा अहिले मुख्यमन्त्री र ६ जना मन्त्री छन् । तर, कोही पनि महिला छैनन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा राज्यमन्त्रीको रुपमा उषा यादव छिन् । यसअघि भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा भए पनि उनलाई केही दिनअघि पदमुक्त गरिसकिएको छ ।