एसपी रिपोर्टर
जनकपुरधाम, जेष्ठ १५ : रघुनाथपुरमा कोभिड पुष्टी नभए पनि विभिन्न रोगका विरामीहरु चारजनाको धमाधम मृत्यु भएपछि गाँउका युवाहरु सक्रिय भएका छन् । कोभिड–१९ महामारीको दोस्रो लहरले गाँउलाई समेत चपेटामा पारेपछि युवाहरु स्थानिय सरकारको मुख नताकि आफै सक्रिय भएका छन् । गाँउ स्तरमा कोभिड नियन्त्रण समिति बनाएर उपलब्ध युवाहरु सक्रिय भएका छन् ।
यस कार्यमा जनकपुरधाम निवासी रघुनाथपुरवासीहरुको समेत सक्रियता हुनुका साथै देशको अन्य भुभाग र विदेशमा बस्ने रघुनाथपुरवासीहरुले धमाधम आर्थिक सयोग गर्न थालेका छन् । आ–आफनो तरिकाले सवै युवाहरु सक्रिय भएपछि गाँउको सो अभियानको सवै आधारहरु तय भएको हो ।

अमेरिका, अस्ट्रेलिया, कतार, साउदी सहित विश्वका विभिन्न देशहरुमा बस्ने रघुनाथपुरियनहरु गाँउमा परेका प्रभावले चिन्तित हुदै सहयोग गर्न थालेका छन् । जनकपुरधाम निवासी हाइटेक डाइगोनिष्टक सेन्टरका सञ्चालक संतोष कुमार साह तथा युवा अगुवा महादेव राउतले गाँउमा कोरोना परिक्षणका लागि आवयश्क किट र जनस्वास्थ्य तथा प्रादेशिक प्रयोगशालाबाट हुने आवश्यक सहयोग जुटाउन पहलकदमी लिएका छन् ।
गाँउका संस्था र व्यक्तिहरुले जनकपुरधाम स्थित क्लोथ बैंक नेपाललाई सहयोग गरेको भन्दै बैंकले युवाहरुको सो अभियानमा अक्सिजन शिलिन्डर २ थान (अक्सिजन मास्क सेट सहित), पिपिई, थर्मलगन र मास्क सहितका सरसमानहरु सहयोग गरेको छ । गाँउमा अतिआवयश्क परेका बेला अक्सिजन चाहिएकाले अन्य अक्सिजन शिलिन्डरको समेत व्यवस्थापनको काम भइरहेको छ ।
गाँउमा वडा नं. १२ वडा अध्यक्ष प्रदिप महतो, पत्रकार समेत रहेका सुरेश कुमार यादव, बिपी साह, नागरिक समाजका अगुवा बिनोद पाल, युवा अगुवाहरु बिपिन अधिकारी, बिरेन्द्र महतो, संतोष साह, स्वास्थ्यकर्मी उमेश यादव, नन्द राउत, नागेश्वर कुमर सहितको अगुवाईमा सक्रियता पुर्वक शंकाष्पद विरामीहरुको पहिचान गरि उपरिक्षणको तयारी भइरहेको छ ।
रामकुमार राउत, रामदियाल सदा, छोटन कुमार ठाकुर र दिनेश पजियार सहितका युवाहरुको सक्रियता र मेहनतले अभियान प्रभावकारी भइरहेको भन्दै पत्रकार साहले उनीहरुलाई धन्यवाद दिएका छन् ।
५५ मध्ये ८ मा संक्रमण

गत विहिवार उपलब्ध भएको एकसय एन्जिेन किटमा जचाउन आएका ५५ जनाको परिक्षण हुँदा ८ जनामा संक्रमण पता लागेको परिक्षणमा सहभागि सन्तोष कुमार साहले बताए । गाँउमा परिक्षणको दायरा बढाउन थप एन्टिजेन किट र प्रयोगशालाबाट पिसिआर परिक्षणका लागि गाँउमै शिविर ल्याउन पहल भइरहेको समेत उनले बताए ।
अमेरिका र अष्ट्रेलियाबाट नगद सहयोग देखि गाँउकै बुहारी समेत रहेकी कतारमा रोजगार गरिरहेका युवा शंकर पासवानकी श्रीमती नितु यादव पासवान (काठमाण्डौं स्थित फर्मासिस्ट) ले गाँउको अभियानका लागि सेनिटाइजर, मास्क सहितका सरसमानको जोहो गर्नुले पनि रघुनाथपुरवासीको गाँउ प्रतिको स्नेह र माया स्पष्ट पारिदिएको छ ।