एसपी रिपोर्टर
जनकपुरधाम, जेष्ठ १५ : जनकपुरधामको ऐतिहासिक कुपेश्वरनाथ महादेव मन्दिरबाट बहुमुल्य दुर्लभ र प्राचीन मुर्ति तथा दानपेटिका चोरी भएको छ । जनकपुरधाम उपमहानगरपालिका १२स्थित कुवा टोलस्थित रहेको ऐतिहासिक कुपेश्वरनाथ महादेव मन्दिरको गेटको ताल्चा तोडेर चोरहरूले बहुमुल्य मुर्तिहरू चोरेर लगेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
अविरल वर्षा भईरहेको मौकाको फाइदा उठाउंदै मन्दिरको ढोकाको ताल्चा तोडेर चोरहरुले मन्दिरमा रहेको २ वटा प्राचिन मूर्ति र दान पेटिकामा रहेको पैसा चोरेर लगेको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जनएको छ । मन्दिरका पुजारी गहिरो निन्द्रामा सुतिरहेको बेला चोरहरूले मन्दिरबाट बहुमुल्य प्राचीन तथा दुर्लभ भगवान शिव र विष्णुको मुर्ति र दान पेटिकामा रहेका ४० हजार रूपैया, तांबा पितलका त्रिशूल, डमरू र भाडा बर्तनहरू समेत चोरेर लगेको उनले बताए ।
भगवान विष्णुको चतुर्भूज मूर्ति केही वर्ष अगाडी मात्रै खेतमा खेतालाहरुले हलो जोतिरहेको जमिनमुनिबाट भेटिएको थियो । ती मूर्ति दुर्लभ र प्राचिन रहेको बताइएको छ । मन्दिरका साथै केही घरमा समेत चोरी भएको बताइएको छ । कुवा ३ वटा घर घरको ढोका र सेन खनेर चोरी भएको स्गानीयले जनाएको छ । ती घरहरूबाट हजारौ रूपैया बराबरको धनमालका साथै नगद समेत चोरिएको बताइएको छ ।
प्रहरी नायब उपरिक्षक मिश्रले भने चोरहरू अहिले फेला परेको छैन घटना बारे अनुसन्धान भईरहेको छ । दुई साता अघि मन्दिरका महन्थ तुलसी गिरीले गुठी संस्थानलाई पत्र लेखेर गुठी मातहतको मन्दिरको जग्गा खाली गराउन उजुरी दिएका थिए । उजुरी पश्चात गुठी संस्थानले प्रहरीको सहयोगमा ती जग्गामा रहेको करीब ३ दर्जन घर तथा टहराहरु भत्काइएको थियो ।
लोकपुकारबाट