एसपी रिपोर्टर
काठमाण्डौं, जेष्ठ ९ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिको बैठक बोलाएका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूपक्षीय कार्यकारिणी समितिको बैठकबाट ठाकुरसहित चारजनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि उनले पनि आफ्ना पक्षका कार्यकारिणी समितिको बैठक बोलाएका हुन् । अहिले बबरमहलमा बैठक बसिरहेको छ ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने–नहुने, अध्यक्ष उपेन्द्र यादव पक्षले गरेका निर्णय र उनी पक्षलाई कारबाही गर्नेलगायतका विषयमा छलफल गर्न बैठक बसिरहेको हो । ठाकुरले जेठ ७ गते एक विज्ञप्ति जारी गरी कार्यकारिणी समितिको बैठक स्थगित भएको जानकारी गराएका थिए । त्यही दिन अध्यक्ष उपेन्द्र यादवले पनि विज्ञप्ति जारी गरी बैठक स्थगित नभएको जानकारी गराएका थिए ।
त्यसअघि महन्थ ठाकुर र उपेन्द्र यादवको संयुक्त हस्ताक्षरबाट जेठ ८ र ९ गतेका लागि कार्यकारिणी समितिको बैठक बोलाइएको थियो । तर ठाकुरले जेठ ७ गते अचानक विज्ञप्ति जारी गरेर स्थगित गरेका थिए । यही विवादका बीच उपेन्द्र यादवको अध्यक्षतामा हिजो कार्यकारिणी समितिको बैठक सामाखुसीको एक पार्टी प्यालेसमा बसेको थियो । सो बैठकबाट महन्थ ठाकुरलगायतका नेतालाई कारवाही गरेको थियो ।
रातोपाटीबाट