एसपी रिपोर्टर
काठमाण्डौं, जेष्ठ ९ : संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नबनाइएको भन्दै विपक्षी गठबन्धनका नेता आज सर्वोच्च अदालत जाने भएका छन् ।
प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणा बदर गर्ने मागसहित रिट निवेदन लिएर देउवासहित माओवादी अध्यक्ष प्रचण्ड,एमाले नेता माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव अदालत जाने कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १४९ जना सांसदको तर्फबाट रिट तयार भएको र सबैजना भौतिक रुपमा अदालतमा उपस्थित हुने बताइएको छ । गोविन्द बन्दी,खम्ब खाती लगायतका वकिलहरुले रिटको मस्यौदा तयार पारेका छन् ।
यसपटक अदालतमा रिट निवेदकको तर्फबाट एमाले नेता भीम रावल र कांग्रेस नेता रमेश लेखकले समेत बहस गर्ने भएका छन् । विपक्षी गठनबन्धनको शनिवार बसेको बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध कानुनी र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको थियो ।