एसपी रिपोर्टर
काठमाण्डौं, जेष्ठ ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) अनुसारको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पेश गरेका छन् । एमालेका २१ र जसपाका ३२ गरी १ सय ५३ सांसदको समर्थन आफूलाई रहेको जानकारी गराउँदै ओलीले नयाँ सरकार गठनका लागि दाबी पेश गरेको उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो ।
एमाले अध्यक्ष एवं संसदीय दलको नेताको हैसियतमा एमालेका १ सय २१ सांसदको समर्थन आफूलाई रहेको दाबी गरेका ओलीले जसपा संसदीय दलका नेता राजेन्द्र महतो तथा अध्यक्ष महन्थ ठाकुरका तर्फबाट पनि जसपाका ३२ सांसदको समर्थन रहने व्यहोरासहितको पत्र बुझाएको स्रोतले जानकारी दियो । प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि धारा ७६ (५) को सरकारमा दाबी पेश गरिएको दाबी गरे ।
’नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री पदको लागि दाबी गर्नुभएको छ। दाबी पत्रमा जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवं दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गर्नुभएको छ,’ रिमालले फेसबूकमा लेखेका छन् ।
उता विपक्षी गठबन्धनका नेताहरू भने एमालेको माधव नेपाल पक्षका २७ सहित १४९ सांसदको हस्ताक्षर बोकेर राष्ट्रपति भवन शीतल निवासमै छन् ।