एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ५ : जनकपुरधामको दक्षिण भेगका ग्रामिण जनतालाई कोभिड उपचारमा केहि राहत हुने भएको छ । धनुषा क्षेत्र नं. ३ का प्रतिनिधीसभा सांसद राजेन्द्र महतोको २० लाख प्रदेशसभा सांसद रामसरोज यादवको १५ लाख र नगराईन नगरपालिकाको सहयोगमा गत वर्षको गंगुली आइशोलेसनलाई कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने भएको छ ।
तिनै तहको सरकार मिलेर तत्काल १५ बेडको कोभिड अस्पताल संचालन गर्ने र आवयश्कता अनुसार बेड थप्दै जाने सहमति भएको युवा नेता राजु चौधरीले बताएका छन् । नगराइन नगरपालिकाले खडा गरेको विपत् व्यवस्थापन कोषमा संघिय सांसद राजेन्द्र महतोको संसदीय कोषबाट रू २० लाख र प्रदेश सांसद राम सरोज यादवको संसदीय कोषबाट रू १५ लाख तथा नगराईन नगरपालिकाको कोषका लागि कार्यपालिकाबाट हुने निर्णय अनुसार रकम जम्मा गरि कोभिड उपचार सुरु हुने भएको छ ।

अस्पतालमा विभिन्न उपकरण जडान हुनुका साथै तत्काल आवयश्कतालाई महसुश गरि २ बेडको भेन्टिलेटर सरहको उपचारको व्यवस्था समेत मिलाउने गरि गृहकार्य भईरहेको बताइएको छ । यस निर्णयबाट ग्रामीण भेगका जनतालाई पक्कै पनि केही राहत हुने विश्वास नेता चौधरीको छ । बैठकमा सांसद महतोका प्रतिनिधी, प्रदेश सांसद राम सरोज यादव, नगराईन नगरपालिकाका प्रमुख प्रमेश्वर यादव, युवा नेता चौधरी सहितको सहभागिता रहेको थियो ।