एसपी रिपोर्टर
काठमाण्डौं, जेठ १ : जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष केहि मांगहरु पुरा भए ओली सरकारमा जाने भएको छ । यसका लागि आन्तरिक तयारी र गृहकार्य भइरहेको स्रोतको भनाइ छ । ठाकुर र महतोले बिहीबार राति दोस्रो पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । दोस्रो भेटमा ओलीले ठाकुर र महतोलाई सरकारमा आउन आग्रह गरेका थिए ।
ठाकुर र महतो तटस्थ बसेकाले ओलीविरुद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले बहुमत जुटाउन सकेन । बहुमत जुटाउन दिइएको समय कटेपछि बिहीबार राति ठाकुर र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । उक्त भेटमा प्रधानमन्त्रीले सरकारमा आउन आग्रह गरेको ठाकुरनिकट नेताहरू बताउँछन् ।
जसपाका नेता शरतसिंह भण्डारीले प्रधानमन्त्रीले जसपालाई सत्ता सहकार्य गर्न प्रस्ताव गरेको बताए । आफ्ना माग मुद्दा सम्बोधन भएमा सरकारमा जाने उनको पनि भनाइ छ । ‘ओली सरकारले हाम्रा माग मुद्दा सम्बोधन गर्छ भन्नेमा हामी विश्वस्त छौं,’ भण्डारीले भने, ‘माग मुद्दा सम्बोधन भए हामी सरकारमा जान्छौं ।’ ठाकुर निकट नेता डा. सुरेन्द्र झाले पनि पार्टीका माग सम्बोधन भएमा आफूहरू सरकारमा जान सक्ने बताए । ‘हाम्रा प्राथमिकता हाम्रो माग मुद्दा हो । माग मुद्दा सम्बोधन भएमा सरकारमा जान सक्छौं,’ झाले थपे ।
जसपा स्रोतका अनुसार पार्टीको तर्फबाट नेतृत्व गर्दै महतो सरकारमा जान इच्छुक देखिएका छन् । यसैगरी भण्डारी र अनिल झा पनि इच्छुक रहेको स्रोतको भनाइ छ । ठाकुरको रोजाइ भने सर्वेन्द्रनाथ शुक्ला वा चन्दा चौधरी छन् ।
यसैगरी उमाशंकर अरगरिया, प्रमोद साह, विमल श्रीवास्तव पनि मन्त्री हुन इच्छुक देखिएको स्रोतले बताएको छ । अरगरिया र श्रीवास्तव उपेन्द्र कित्ताबाट भरखरै मात्र ठाकुर कित्तामा प्रवेश गरेका छन् । स्रोतले भन्यो, ‘मन्त्री हुन चाहना राख्दै उपेन्द्र यादव कित्ताका थप अरू ४ जना सांसद आफूतिर आउन तयार भएका छन् ।’ तिनीहरूको नाम भने गोप्य राखिएको छ ।
नागरिक दैनिकबाट