एसपी रिपोर्टर
काठमाण्डौं, बैशाख ३० : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीभित्रको विवाद हल गर्न कार्यदल बनाउने सहमति भएको छ । बिहीबार दिउँसो दुई बजेदेखि चार घण्टा भएको छलफलमा ओली र नेपाल विवाद समाधानका लागि कार्यदल बनाउन सहमत भएका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल सहमति नजिक पुगेका छन् । र माधवकुमार नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा तत्काललाई टरेको छ । दुई नेताबीच चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा साढे चार घण्टा छलफलमा नेता नेपालले ६ वैशाखमा अघि सारेको ६ बुँदे प्रस्तावमाथि छलफल भएको थियो ।
त्यस क्रममा अध्यक्ष ओलीसँग फागुन २८ गतेको निर्णय फिर्ता र पार्टी कमिटी २०७५ जेठ २ को स्थितिमा फर्किने विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्दै जाने सहमति भएको नेता नेपालले बताए । उनले भने ‘आज सांसदहरुले राजीनामा दिने कुरा दुई चार दिनलाई ट¥यो ।’
माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतको २३ फागुनको फैलासले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेको पार्टी कमिटी पनि एकताअघिको अवस्था अर्थात २०७५ जेठ २ मा पुग्नुपर्ने माग गरेको छ । तर २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुको बैठकबाट नेताहरुको जिम्मेवारी हेरफेर, माओवादी केन्द्रबाट आएका नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेपछि दुई समूहबीच फाटो बढ्दै गएको थियो ।
बिहीबार नेता नेपाल निकटका सांसदले विपक्षी गठबन्धनलाई सरकार निर्माणका लागि सजिलो हुने गरी राजीनामा दिने तयारी गरेपछि अध्यक्ष ओलीले नेता नेपाललाई फोन गरेर भेटको प्रस्ताव गरेका थिए । प्रधानमन्त्री ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समय बिहीबार राति ९ बजे सकिँदैछ ।
देउवा–प्रचण्डको निश्कर्ष ‘सम्भावना टरयो’
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले बहुमतीय सरकार गठनको सम्भावना टर्दै गएको निष्कर्ष निकालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भएको भेटमा नेकपा एमालेमा भइरहेको सहमतिको प्रयास र जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको अडानबारे छलफल भएको थियो ।

एक नेताका अनुसार एमालेमा अध्यक्ष केपी शर्मा ओली जेठ २, २०७५ मा फर्किन तयार भए माधवकुमार नेपाल पक्षले राजीनामा नदिने देखिएको छ ।