एसपी रिपोर्टर
काठमाण्डौं, बैशाख ३० : नेकपा (एमाले) को आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली दुई कदम पछि फर्किएका छन् । माधव नेपाल पक्षसँग सम्झौता गरेर अघि बढ्न अन्ततः ओली तयार भएका छन् ।
नेपाल पक्षले राख्दै आएका माग पूरा गर्नको लागि ओली तयार भएको विश्वस्त सूत्रले जनाएको छ । पार्टीको भर्खरै सम्पन्न स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधव कुमार नेपाल, नेताहरु भीम रावल, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेमाथि गरेको ६ महिने निलम्बन कारबाही पनि फुकुवा गरेको छ ।
बैठक बस्नुअघि ओलीको सन्देश बोकेर विष्णु पौडेल नेता नेपाल निवास कोटेश्वर पुगेका थिए । उक्त भेटवार्तामा पौडेलले अध्यक्ष ओली लचक भएको र सहमतिका साथ अघि बढ्न तयार भएको सन्देश प्रवाह गरेका थिए । नेपाल र पौडेलको वार्तामा सहभागी नेता सोमप्रसाद पाण्डेले दिएको जानकारीअनुसार अध्यक्ष ओली माधव नेपाल पक्षले भनेझैं २०७५ जेठ २ गते फर्कन तयार भएका छन् ।
र, पछिल्लो समय लिएका सबै निर्णयमा पूनर्विचार गर्नपनि तयार भएको तर त्यसको लागि कार्यदल बनाईने भएको छ । अध्यक्ष ओलीको सन्देशप्रति नेता नेपालपनि सकारात्मक भएका छन् । नेता नेपालसँग सम्झौता गर्न ओली तयार भएको कुरा उनले आँफैले ६ महिनाको लागि निलम्बनको कारबाही गरेका नेताहरुलाई आज कारबाही फुकुवा गरेर देखाईसकेका छन् ।