एसपी रिपोर्टर
काठमाण्डौं, बैशाख २९ : वैकल्पिक सरकार गठनबारे छलफल गर्न बसेको जनता समाजवादी पार्टी (जसपा) शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकमा वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे छलफल भएको संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए । लोकतान्त्रिक पार्टीमा फरक–फरक धारणा आउनु स्वभाविक भएको भन्दै उनले भोलिसम्म एकीकृत धारणा तय गर्ने जानकारी दिए ।
‘हाम्रो पार्टीको दुई खेमा होइन, फरक–फरक विचारहरु छन् । यो स्वभाविक हो लोकतन्त्रिक पार्टीमा,’ उनले भने, ‘संविधानको धारा ७६ को २ अनुसारको वैकल्पिक सरकार निर्माणका लागि दाबी पेश गर्ने भोलि अन्तिम समय छ । त्यसकै निम्ति पार्टीका शीर्ष तहमा अनौपचारिक कुराकानी गरेका छौं । छलफल जारी राख्छौं र भोलिसम्म्म एकीकृत विचार बनाउने प्रयासमा हामी छौं ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका राष्टपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुलाई दिएको तीन दिनको समयसीमा बिहीबार सकिंदैछ ।
राष्ट्रपतिसंग ठाकुर/महतोले गरे भेटघाट
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर आफूहरू वैकल्पिक सरकारको पक्षमा नरहेको बताएका छन् । बुधवार दिउँसो राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर उनीहरूले राष्ट्रपति भण्डारीलाई कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने पार्टीको निर्णय नभएको जानकारी गराएका हुन् ।
‘पार्टीको निर्णयबारे इमेलमार्फत जानकारी गराइएको थियो, आज भेटेरै जानकारी गराएका हौं,’ जसपा स्रोतले भन्यो । राष्ट्रपतिसँग भेट्नुअघि ठाकुर र महतोले प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो छलफल गरेका थिए । राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकार गठनका लागि दलहरूलाई दिएको समय भोलि सकिँदैछ ।
यो अवधिमा सरकार बन्न नसकेमा धारा ७६ को उपधारा ३ अनुसार ठूलो दलको अल्पमतको सरकार बन्ने सम्भावना छ । धारा ७६ (३) अनुसारको सरकार बन्दा केपी ओलीलाई समर्थन गर्ने उनीहरूले बताएका छन् । राष्ट्रपतिलाई भेटेर नेता महतो जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेट्न पार्टी कार्यालय बालकुमारी पुगेका छन् । नेता भट्टराईले पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा सरकार गठन गरेर एक वर्षभित्र चुनावमा जान प्रस्ताव गरेका छन् ।