एसपी रिपोर्टर
काठमाण्डौं, बैशाख २७ : प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका हुन् । आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भनि प्रधानमन्त्रीले राखेको प्रस्तावको पक्षमा ९३ मत परेको छ भने विपक्षमा १२४ मत खसेको छ । सोमबारको बैठकमा उपस्थित २३२ सांसदमध्ये १५ जना तटस्थ बसेका छन् ।
प्रस्तावको पक्षमा आएको ९३ मत प्रतिनिधिसभामा कायम रहेको सदस्य संख्याको बहुमत कायम नभएकाले अस्वीकृत भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरे । संसदको सबभन्दा ठूलो दल एमालेका १२१ सांसद छन् । तर प्रधानमन्त्री ओलीले आफैं दलको सबै मत पाउन सकेनन् । एमालेमा समानान्तर संरचना बनाएको माधवकुमार नेपाल पक्षका सांसदहरु बैठकमा अनुपस्थित भएका थिए ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् । जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का एक सांसद तटस्थ बसेका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २८ सांसद सोमबारको प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा एमालेकै २८ सांसद अनुपस्थित भएका हुन् ।
एमालेका बाँकी ९३ सांसदले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएनन् । विश्वासको मत नपाएपछि प्रधानमन्त्री ओली पदमुक्त भएका छन् ।
एमालेका अनुपस्थित सांसदहरुः
१. झलनाथ खनाल
२. माधवकुमार नेपाल
३. भीम रावल
४. घनश्याम भुसाल
५. सुरेन्द्र पाण्डे
६. गोकर्ण विष्ट
७. योगेश भट्टराई
८. मुकुन्द न्यौपाने
९. सोमप्रसाद पाण्डे
१०. जीवनराम श्रेष्ठ
११. रामकुमारी झाँक्री
१२. गणेश पहाडी
१३. जयकुमार राई
१४. यज्ञराज सुनुवार
१५. नारायण खतिवडा
१६. पवित्रा निरौला खरेल
१७. भवानी खापुङ
१८. दीपकप्रकाश भट्ट
१९. विरोध खतिवडा
२०. पुष्पाकुमारी कर्ण
२१. झपट रावल
२२. मेटमणि चौधरी
२३. सरला यादव
२४. कृष्णलाल महर्जन
२५. कल्याणी खड्का
२६. निरादेवी जैरु
२७. कलिला खातुन
२८. लक्ष्मीकुमारी चौधरी