एसपी रिपोर्टर
काठमाण्डौं, बैशाख २३ : वाग्मती प्रदेश अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि शुक्रबार (वैशाख २४ गते) उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ । तर, सत्तारुढ दल नेकपा एमालेले आफ्नो उम्मेदवार बिहीबार साँझसम्म टुङ्ग्याएको छैन ।
२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा ‘बादल’ निर्वाचित भएको क्षेत्र हो यो । माओवादी केन्द्रबाट निर्वाचित बादल एमाले प्रवेश गरेपछि रिक्त भएकोले उपचुनाव हुन लागेको हो । खाली भएको ठाउँमा एमालेले पुनः बादललाई निर्वाचन लडाउन चाहेको छ । तर, स्वयं बादल भने उपचुनाव लड्न तयार नभएको नेताहरुले बताएका छन् ।
उपनिर्वाचनमा वाग्मती प्रदेशमा तपाईंहरुको उम्मेदवार को हो ? भन्ने प्रश्नमा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता सुमनराज प्याकुरेल भन्छन्, ‘जो जो साथीहरु पूर्वमाओवादीबाट एमालेमा आउनुभएको थियो, एमालेमा आएबापत, प्रधानमन्त्रीको कदमलाई साथ दिएबापत ज–जसले पद छोड्नु परेको छ त्यस ठाउँमा हुने उपनिर्वाचनमा हाम्रो उम्मेदवार उहाँहरु नै हो । तर, उहाँहरुले आफैं चाहनु भएन भने अर्कै कुरा (उम्मेदवार) हुन्छ ।’
एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको उपनिर्वाचनबारे छलफल भएको थियो । तर, उम्मेदवारको टुङ्गो भने लाग्न सकेन । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले पार्टीले उठाएको उम्मेदवारको जीत सुनिश्चित हुने गरी जनप्रतिनिधि र मतदातासँग छलफल गर्ने निर्णय भएको जानकारी दिए ।
‘‘जनप्रतिनिधिहरु मतदाताहरुसंग कुराकानी अगाडि बढाउने र जितलाई सुनिश्चित हुने गरी छलफल गर्ने निर्णय गरेका छौं । उम्मेदवारको बारेमा हामी छिट्टै निर्णय गर्छौं’ ज्ञवालीले भने । वालुवाटार स्रोतका अनुसार स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको उपनिर्वाचनमा वाग्मती प्रदेशमा पुनः बादललाई उठाउने प्रस्ताव प्रस्तुत भएको थियो । तर, स्वयं बादलले आफू उपचुनावमा उठ्नका लागि चुनाव जित्ने निश्चित हुनुपर्ने बताए ।
‘बादल कमरेडले जित निश्चित हुनुपर्छ भनेर राख्नुभयो । नजित्ने चुनाव नलड्ने उहाँको अडान छ । त्यसकारण आज उम्मेदवारको टुङ्गो लाग्न सकेन’ एक स्थायी कमिटी सदस्यले भने । नेताहरुका अनुसार एमालेभित्रकै माधव नेपाल पक्षले विपक्षी गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने भनेका कारण बादल चुनाव लड्नबाट हच्किएका हुन् ।