एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २१ : जनकपुरमा एक कोरोनाका लक्ष्णहरु भएको बिरामीको उपचार अभावमा छटपटिएर मृत्यु भएको छ । पाँचदिनदेखि रुघाखोकी ज्वरो लागेका मिथिला नगरपालिका घर भई बटेश्वर गाउँपालिका ४ ससुरालीमा बस्दै आएका का ४५ वर्षीय लोकबहादुर परियारको उपचारको अभावमा छटपटिएर मृत्यु भएको हो ।
परियारलाई गए राति ८ बजे श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि जनकपुर लगिएको थियो । प्रादेशिक अस्पतालको आइसोलेशनमा उपचारको लागि पुग्दा बेड खाली नरहेको भन्दै फर्काइएको थियो । त्यहाँबाट जनकपुरधामको अन्य केहि हस्पिटलहरुमा लगिएको थियो तर बिना पैसा धरौटी कतै भर्ना नलिएपछि बाध्य भएर पुनः घर फर्किएर बटेश्वर बजारको आरपी मेडिकल हलमा पुग्दा बिरामीको मृत्यु भएको एम्बुलेन्स चालक रामबाबु महतोले बताए ।

उनको अक्सिजनकै अभावमा मृत्यु भएको एम्बुलेन्स चालक महतोले बताए । जनकपुरको प्रादेशिक अस्पतालमा लग्दा बेड खाली छैन भनेर फर्काइयो, उनले भने, ‘अन्य अस्पतालहरुमा पनि लिएर जाँदा भर्ना नगरेको, पहिला पैसा नै डिपोजिट गर्नुपर्ने भनेपछि बिरामीका आफन्तले पैसा नभएको भन्दै घर फर्किन भन्यो ।’
‘उहाँको शरीरमा अक्सिन एक थियो । मैले चेक गर्दा ४५ मात्र थियो । एम्बुलेन्समा अक्सिजन लगाइदिएर जनकपुर लगेका थियौं । प्रादेशिक अस्पतालमा बेड छैन भनेर फर्काएपछि केहि निजीमा पनि लिएर गयौं । कसैले भर्ना गरेन । उनका आफन्तले घर नै फर्किन भन्यो’ एम्बुलेन्स चालकले भने ‘फर्केपछि आरपी मेडिकल हालमा राखिदिन भन्यो । राखदिएँ । म अर्को बिरामी लिएर काठमाडौं हिँडे । बिहान उनको मृत्यु भएको खबर थाहा पाएँ ।’
यता आरपी मेडिकल हलका संचालक सुवोध साहले फर्काएर ल्याएपछि बिहानै बिरामीको मृत्यु भएको बताउँदै पसल अगाडि शव राखेर एम्बुलेन्स हिडेको बताए । मृतकका आफन्त समेत शव त्यँही छाडेर आफ्नो घर तिर लागेका छन् । आफन्त समेत छाडेर गएपछि अहिले वेवारिसे अवस्थामा शव त्यही रहेको देखिन्छ ।
टुडेपाटीको सहयोगमा