जनकपुरधाम, फागुन २६ : आज फागुन शुक्ल पुर्णिमा, हिमाल तथा पहाडमा होली मनाइदै छ । तराई मधेशमा भने भोली र पर्सी मंगलवार तथा बुधवार होली मनाइने छ । त्यसो त तराइ मधेशको होली विधिवत मंगलवार परेपनि होलीमा माछा मासु समेत खाने भएकाले कतिपयले भने बुधवार समेत होली मनाउने भएको छ । जनकपुरधाम नजिकको क्षेत्रमा बुधवार होली हुने छ भने साकाहारी सहित अधिकांशले मंगलवार नै होली मनाउने छ । संघिय सरकारले सोमवार तथा प्रदेश २ सरकारले मंगलवार र बुधवार सार्वजानिक बिदा दिएकाले समेत यस वर्ष तिन दिन सम्म होली मनाइने छ । यस वर्ष कोरोना भाइरसको प्रभाव र त्रासका कारण पहाडका जिल्लामा भने होलीको रौनक तथा चहलपलहमा भने कमि देखिएको छ । तराई मधेशमा भने होलीको रौनकमा कमि नहुने सर्वसधारणहरु बताउछन् ।
त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।
यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ ।