एसपी रिपोर्टर
काठमाण्डौं, बैशाख ११ : अपहरणमा परेका भनिएका समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफनो सपना साकार भएको बताएका छन् । पूर्वआइजीपी सर्वेन्द्र खनाल, नेकपा सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठले जनकपुरबाट रातारात काठमाडौं ल्याएका सांसद डा. सुरेन्द्र यादवले राजपा र समाजवादी पार्टी एक भएकोमा खुशी व्यक्त गरेका छन् । मधेसका जनताको मुद्दा उठाउँदै आएका पार्टीहरु एक हुनुपर्छ भन्ने आफ्नो सपना पूरा भएको भन्दै यादवले खुशी प्रकट गरेका हुन् । पार्टी एकीकरण भई निर्वाचन आयोगमा दर्ता भइसकेपछि सांसद यादवले भने, ‘मेरो धेरै वर्षको सपना आज साकार भएको छ ।’
यस्तो छ पुर्वमन्त्री राईको दावी
पूर्वमन्त्री एवं समाजवादी पार्टीका नेता तथा सांसद मोहम्मद इस्तियाक राईले आफूहरूले पार्टी फुटाउँछन् भन्ने हल्ला १ सय १ प्रतिशत गलत भएको बताएका छन् । समाजवादी पार्टीका ४० प्रतिशत सांसदले पार्टी फुटाउन लागेका हुन् ? भन्ने प्रश्नमा उनले भने, ‘मैले पाँच दिनदेखि लगातार भन्दै आएको छु हामीले पार्टी फुटाउने सम्भावना १०१ प्रतिशत छैन ।’ पार्टी भित्र भने असन्तुष्टि भएको उनले बताए । यही कारणले पार्टी फुट्ने भए सबैभन्दा पहिला नेकपा फुट्छ, त्यसपछि कांग्रेस, अनि मात्रै हाम्रो पालो आउला उनले थपे । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक दलसम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन आफूहरूले आश्वासन नदिएको पूर्वमन्त्री राईको भनाइ छ ।
प्रधानमन्त्री केपी ओलीले भेट्न खोज्नुभएको छ भन्दै झुक्याएर गलत मनसायले जनकपुरबाट राति ३ बजे काठमाडौं ल्याइएका सांसदले नेकपाको कब्जाबाट फुत्केपछि हिमालय टिभीलाई दिएको राजनीतिक प्रतिक्रिया