एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ११ : पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी नेपाल विभाजन भई बुधवार राती नै इमेल मार्फत नयाँ दल दर्ताका लागि निवेदन दिइएको एक सांसदको दावी छ ।
उपाध्यक्ष रेणु यादवको नेतृत्वमा पार्टी विभाजन भई नयाँ दल दर्ताका लागि बुधबार राति नै निर्वाचन आयोगमा इमेल गरिएको हो । पार्टीको वरिष्ठ नेतामा पूर्वमन्त्री इस्तियाक राई रहेको जानकारी बुधबार राति नै सभामुखलाई पनि गराइएको छ । दिउँसो नै सबै प्रक्रिया पुरा गर्ने तयारी भएपनि सांसद विमल श्रीवास्तव दोधारमा पर्दा निर्णय पठाउन ढिलाई भएको थियो ।
बुधबार दिनभरी भएको छलफलबाट पार्टीको नाम र सरकारमा सहभागी हुँदा मन्त्री कसलाई बनाउने विषयमा पनि छलफल भएको छ । नयाँ दलको नाम ‘राष्ट्रिय समाजवादी पार्टी’ लगायतको प्रस्ताव गरी आयोगमा पठाइएको स्रोतले जनाएको छ ।
प्रदिप यादव मन्त्री बन्ने
यसैगरी, समाजवादीबाट गएकालाई एउटा मन्त्री र एउटा राज्यमन्त्री दिने तयारी छ । सहमती अनुसार पर्साका सांसद प्रदिप यादवलाई मन्त्री बनाउने सहमति पनि भएको छ ।
यसैगरी, उपसभामुख पनि नयाँ पार्टीलाई दिन नेकपा तयार रहेपनि राजपावाट अनिल झा र राजकिशोर यादव सहितको समुह पार्टी फोडेर आउन सक्ने भएकाले उनीहरुका लागि उपसभामुख राख्न सकिने समेत स्रोतको भनाई छ । राजपाबाट फुटेर आउनेहरुसँग छलफल गरी उपसभामुखको टुँगो लाग्ने जनाइएको छ ।
स्रोतका अनुसार राजपाबाट विभाजन भई जानेहरुलाई पनि एउटा मन्त्री र एउटा राज्यमन्त्री दिने आश्वासन दिइएको छ । यसैसँगै, प्रदेश २ को सरकार पनि फेरबदल हुने सम्भावना बढेको छ । समाजवादी पार्टी विभाजनका विषयमा सांसद इस्तियाक राइले बोल्न चाहेनन् । उनले अहिलेसम्म आफूहरु पार्टीप्रति वफादार रहेको दावी गरे ।