एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख १० : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग जोडिएको नेपालको सीमा नाका तत्काल नखुल्ने संकेत गरेका छन् । भारतमा कोरोना संक्रमणको अवस्था अन्त्य नभए सम्म सिमाना नखुल्ने प्रधानमन्त्रीले बताएका हुन् । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका संघीय सांसदहरुसँगको छलफलका क्रममा प्रधानमन्त्रीले लकडाउनको मोडल परिवर्तन हुनसक्ने बताए । प्रधानमन्त्रीले संक्रमण नदेखिएका ठाउँमा लकडाउन खुकुलो हुने संकेत गरेको छलफलमा सहभागी एक सांसदलेलाई बताए ।
भारतसँगको सिमाना भने अहिले नखुल्ने र जो जहाँ छन् त्यहीँ रहनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्रीले हालै जारी दुई अध्यादेशबारे पनि सांसदहरुलाई अन्यौल र भ्रममा नरहन आग्रह गरेको छलफलमा सहभागी डोटीका सांसद प्रेम आलेले बताए । अध्यादेश आवश्यकता परेरै जारी भएको र यसमा अरु कुनै आशंका गरिरहनु नपर्ने प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्रीसँग केही सांसदले पछिल्ला अवस्थाको बारेमा जिज्ञासा राखेका थिए ।
सरकारले यही बैशाख ८ गते राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुई वटा अध्यादेश जारी गरेको छ । राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्नसक्ने सम्बन्धी व्यवस्था गरिएको छ । यी अध्यादेशलाई लिएर नेकपाभित्रै र बाहिर पनि सरकारको आलोचना भइरहेको छ ।
छलफलमा नेकपा अध्यक्ष प्रचण्ड पनि सहभागी थिए । तर प्रचण्ड केही ढिला पुगेकाले ओली आफैंले प्रचण्डलाई आफूले सांसदहरुसँग बताएका कुराको जानकारी दिएका थिए । प्रचण्डले केही नबोलेको सांसदहरुले बताए । सांसदहरुको छलफलमा उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक देव गुरुङ पनि सहभागी छन् । प्रदेशगत रुपमा सांसदहरुसँग छलफल आयोजना गरिएको छ ।
साभार अनलाइन खवर