जनकपुरधाम, बैशाख ९ :
सत्तारुढ गठबन्धनले मिलाएको भागबण्डाको आधारमा जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टीको कोटामा परेपछि नेपाली कांग्रेस भित्र विवाद चुलिएको छ । जनकपुरधाम जसपालाई दिइएको भन्दै नेपाली कांग्रेस जनकपुरधामका नगर सभापति मनोज साहले राजीनामा दिएका छन् । साहले साधारण सदस्य समेत नरह्ने गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
सत्ता गठबन्धन दलले महानगर तथा उपमहानगरको गरेको भागबण्डामा असन्तुष्टि जनाउँदै उनी संगै नेपाली कांग्रेस जनकपुरधामका नगर सचिव, नगर कोषाध्यक्ष, जनकपुरधाम १५का वडा सभापति सहित सयौँ कार्यकर्ताहरुले कांग्रेस परित्याग गरेका हुन् ।
नगरसभापति साह सँगै सचिव लालबाबु मिश्र, कोषाध्यक्ष वीरेन्द्र यादव, वडा नं. १५ का सभापति नन्दलाल साहले राजीनामा दिएका हुन् । त्यस्तै मनोज साहले आफ्नो वडामा रहेका १ सय ५०भन्दा बढी क्रियाशिल सदस्य, भातृ संगठनहरुबाट गरि २ सय ५० भन्दा बढीले राजीनामा गर्ने तयारी पूरा गरि सकेको बताए ।
कांग्रेसले गठबन्धनमा जनकपुरधाम जसपालाई दिएर आफ्नै घर भत्काएको छ, उनले भने ‘कांग्रेसले आफ्नै घरमा आगो लगाएपछि आफुसंग स्वतन्त्र उम्मेदवार दिनु बाहेक कुनै विकल्प छैन ।’ साह जनकपुरधामको नगरप्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका हुन् । यद्यपि पार्टीको नेतृत्व पंक्ति सच्चिएको निर्णय गरे आफू राजिनामा फिर्ता लिन तयार समेत रहेको बताए ।