एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक २५ : जनता समाजवादी पार्टीका राष्ट्रीय अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार संघीयता र गणतन्त्र समाप्त पार्ने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् । जसपा निकट युवा संघले आज जनकपुरधाममा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले भने, ‘नेपालको संविधानले अपरवर्तनीय रुपमा राखेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै सरकारले चुनौैती दिने चेष्टा गरिरहेको छ ।’
वर्तमान सरकारकै पुर्व उपप्रधान मन्त्री समेत रहिसकेका यादवले भने, ‘यो सरकार संघियता र गणतन्त्रको लागि घातक छ ।’ उनले देशमा सवै पार्टी र शक्ति फेल सावित भइसकेको र जनताको आशा अव बैकल्पिक शक्तिको रुपमा जसपा माथी रहेकाले सोहि अनुसार अगाडी बढनु पर्ने बताए । मुलुक कोरोना महामारीको संकट झेली रहेको समयमा सरकारको मुख्य कर्तव्य जनताको ज्यानको सुरक्षा हुनु पर्नेमा सरकार त्यस बाट विमुख भई अन्य चलखेलमा लाग्नु मुलुकको लागी दुर्भाग्य रहेको यादवको तर्क छ ।

समाजवादी युवा संघका जिल्ला अध्यक्ष दिपेन्द्र कापडीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा युवाका संघका केन्द्रिय अध्यक्ष योगेन्द्र राय यादव, जनकपुर उपमहानगरका प्रमुख लालकिशोर साह, बौद्धिक पेशाकर्मी महासंघका केन्द्रिय उपाध्यक्ष जितेन्द्र कुमार यादव सहितका वक्ताहरुले सम्बोधन गरेका थिए । कार्यक्रमका बिच दर्जनौं युवाहरुलाई जसपामा प्रवेश गराइएको छ ।






