एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक ३ : नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा सुरेन्द्र प्रसाद सिंहको निधन प्रति नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले गहिरो दुःख व्यक्त गरेका छन् । नेपाली काँग्रेसका नेता महोत्तरी काँग्रेसका पुर्व उपसभापति समेत रहेका सिंहको असामयिक निधन बाट स्तब्ध भएको निधीले बताएका छन् । निधिले मृत आत्माको चीर शान्तिका लागि भगवान संग प्रार्थना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्र्नुका साथै शोक सन्तप्त सम्पुर्ण परिवारजन प्रति समवेदना व्यक्त गरेको सञ्चार विभागका सदस्य प्रफुल्ल घिमिरेले बताए ।
दिवङ्गत संहको आज अन्तेष्टि गरिएको छ । स्वर्गीय सिंहको पैत्रिकथलो महोत्तरीको मनरा शिशवानगरपालिका–२ कट्टीमा हिन्दू वैदिक परम्परा अनुसार अन्तेष्टि सम्पन्न भएको हो । लामो समयदेखि मुटु सम्बन्धी स्वास्थ्य समस्या रहँदै आएका सिंहको आइतबार जनकपुरधाम स्थित निवासमा ६५ वर्षको उमेरमा निधन भएको थियो ।

सम्पन्न राजपूत परिवारमा बिक्रम सम्वत २०१३ सालमा जन्मिएका सिंह बिद्यार्थी कालदेखि नै निरङ्कुश पञ्चायती ब्यवस्था बिरुद्ध नेपाली काँग्रेसमा आवद्ध रही प्रजातान्त्रिक आन्दोलनमा होमिनु भएको थियो । महोत्तरीबाट नेपाली काँग्रेसको महासमिति सदस्य रहनु भएका सिंह २०६४ सालको प्रथम संविधानसभा निर्वाचनमा महोत्तरी–४ बाट प्रत्यासी थिए । विगतमा नेपाली काँग्रेस महोत्तरीका उपसभापति समेत रही सकेका सिंह प्रजातान्त्रिक आन्दोलनमा सरिक छँदा पटक पटक जेल परेका थिए ।
स्वर्गीय सिंहको अन्तेष्टि पूर्व उनको पार्थिव शरीरमा नेपाली काँग्रेसका जिल्ला सभापित महेन्द्र कुमार राय सहितका नेताले पार्टीको चारतारे झण्डा ओढाएर सम्मान अर्पण गरेका थिए । अन्तेष्टि स्थलमा स्वर्गीय सिंह प्रतिश्रद्धाञ्जली व्यक्त गर्न प्रतिनिधिसभा सदस्य डा. सुरेन्द्रकुमार यादब, प्रदेश–२ का आन्तरिक मामिला राज्यमन्त्री सरोज सिंह कुशवाहा र बिभिन्न पार्टीका नेताहरु समेत उपस्थित भएको नेका महोत्तरीका नेता बजरङ्ग नेपालीले जानकारी गराए । स्व. सिंहको पार्थिव शरीरमा उनका जेठा छोरा रञ्जितकुमार सिंहले मुखाग्नी (दागबत्ती) दिएका छन् । स्व. सिंहकी पत्नी आशा सिंह, तीन छोरा र बुहारी र नाति÷नातिनाहरु छन् ।