एसपी रिपोर्टर
जनकपुरधाम, साउन ११ : धनुषाको शम्भु सदा र राजु सदाको मृत्यु नभई नियोजित हत्या भएको भएपनि छानविन गर्न सरकार तत्परता नदेखाएको भन्दै पुर्व राष्ट्रियसभा सदस्य सहित दलित अगुवाहरुले जनकपुरधाममा आज अर्धनग्न विरोध प्रदर्शन गरेका छन् ।
निर्वमान राष्ट्रियसभा सदस्य जसपाका नेता रामपृत पासवान सहित दलित अगुवाहरु अर्धनग्न रुपमा विरोध प्रदर्शन गर्दै दलित उपर हुने मानवता विराधी कार्य र हत्या सम्मको घटनामा सरकार मुखदर्शक बन्नु अपराध रहेको आरोप लगाएका छन् । जनकचौकवाट सुरु भएको प्रर्दशनमा सहभागीहरूले दलितमाथिको अत्याचार बन्द गर, प्रहरी प्रशासन मुर्दाबाद, शम्भु र राजुका हत्यारालाई कारबाही गर जस्ता नारा लगाएका छन् ।
जनकपुरको विभिन्न चोकमा प्रदर्शन पश्चात दलित अगुवाहरुले जिल्ला प्रशासन किर्यालय अगाडी केहि छिन धर्नामा पनि बसे । शम्भु र राजु सदाले न्याय नपाएसम्म उनीहरुले विभिन्न चरणका आन्दोलनका कार्यक्रम समेत घोषणा गरेका छन् । आइतवार अर्धनग्न जुलुस निकालेका उनीहरु साउन १३ गते थाली र सिटी जुलुससहित सिडिओ कार्यालय अगाडी धर्ना, साउन १५ गते मिरदङ्ग (मादल) बजाउदै पोस्टर टास्दै सिडिओ कार्यालय अगाडी धर्ना, साउन १८ गतेदेखि जिल्ला प्रशासन कार्यालय अगाडी अनिश्चितकालिन रिले अनशन बस्ने सम्मको कार्यक्रम सार्वजानिक गरेको छ ।
गत जेठ २७ गते मध्यरातमा शम्भु सदा इलाका प्रहरी कार्यालय सबैला थुनुवा कक्षको शौचालयमा झुण्डिएको अबस्थामा फेला परेका थिए भने गत असार ७ गते राति प्रादेशिक अस्पतालको सेमी आइशोसेलनम कक्षमा झाडापाखालाको उपचार नपाएर छटपटिएर राजु सदाको मृत्यु भएको थियो । राजुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनको उपचारकै अभावमा मृत्यु भएको निश्कर्ष दलित अगुवाहरुको छ । एता प्रदेश २ सरकारले मृतक शम्भु र राजुको परिवारलाई ५÷५ लाख रुपैया सहयोग गरिसकेको छ ।