एसपी रिपोर्टर
काठमाण्डौं, असोज २८ : सुनचाँदी तस्करीमा संलग्न भएको अभियोगमा राजश्व अनुसन्धान विभागले भारतीय नागरिक विकाश कुमार साह विरूद् मुद्दा दायर गरेको छ । विभागले साह जनकपुरधाम–५ को शिव ज्वेलर्सका प्रोप्राइटर निर्मलकुमार सिंघानिया र नवलकुमार साह विरूद्ध मंगलबार उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेको हो । उनीहरूविरूद्ध २५ करोड ५५ लाख १३ हजार ३०८ रुपैयाँ बिगो, जरिवाना र कैद सजाय माग दाबी लिई मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
नेपालबाट भारततर्फ जाँदै गरेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरू जनकपुरधाम–२५ लोहनाबाट फरार भएका थिए । मोटरसाइकल छोडेर भाग्दा उनीहरूले ३० किलो चाँदी छोडेका थिए । त्यसपछि अनुसन्धान गर्दा उनीहरू सुनचाँदी तस्करीमा संलग्न भएको पाइएको विभागले जनाएको छ । उनीहरूले हालसम्म गैरकानुनी रुपमा सुनचाँदी तस्करीबाट आर्जन गरेको सो बराबरको बिगो देखिन आएको विभागले जनाएको छ ।
त्यसै गरि फल्स बटम बनाएर मालवस्तु निकासी पैठारी गर्ने भारतीय नागरिक रजनिश गुप्ता सहितका विरुद्व राजश्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । राजश्व चुहावट कसुरमा गुप्तासहित चितवन खैरहनी घर भएङ्का राजेन्द्र थापाविरूद्ध २१ करोड बिगो दाबी गरी मंगलबार विभागले उच्च अदालत पाटनमा दुई अलग मुद्दा दायर गरेको हो । भारतीय ट्रह खरिद गरी उनीहरूले सोभित्र छुट्टै क्याबिन (फल्स बटम) बनाएर मालवस्तु तस्करी गरेको अनुसन्धानमा खुलेपछि मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
गुप्ता भारतीय नागरिक हुन्। उनले नेपाली नागरिकता समेत लिएको देखिएको छ। वीरगंज महानगरपालिका(१०, आदर्शनगर र काठमाडौं महानगरपालिका सोल्टीमोडमा बसोबास गर्ने गुप्ताले पर्साबाट ३४१०२२र१०९ नम्बरको नागरिकता लिएको खुलेको छ । उनीसँग भारतीय राजदूतावासबाट जारी भारतीय नागरिकको परिचय पत्र नं. १३८७९७ समेत छ । मुद्दामा सो कसुरमा दुवैलाई १३ करोड ८३ लाख १ हजार ५५३ रुपैयाँ बिगो माग गरिएको छ ।
भारतीय ट्रक युपी३२डिएन ९३४७ नम्बरको ट्रक विभागले केही समयअघि पर्साबाट पक्राउ गरेको थियो । यस्तै, ना६ख ५२५८ नम्बरको सिमेन्ट बोकेर आएको ट्रकमा बिना बिल बिजकका भारतीय कपडाहरू लुकाइछिपाइ भन्सार चोरी पैठारी गरी राजस्व चुहावटको कसुर गरेको अभियोगमा गुप्ता र थापासमेत पाँच जनाविरूद्ध ७ करोड ७७ लाख ४८ हजार १७८ बिगो माग्दै मुद्दा दायर गरिएको विभागले जनाएको छ ।