पुरन रौनियार
जनकपुरधाम, असोज २५ : अगामि असोज ३० गते धनुषाको क्षेत्र नं. १ सवैलामा जसपाको पार्टी प्रवेश कार्यक्रमको तयारी तिव्र पारिएको छ । पुर्व मन्त्री तथा नेकपाका स्थाई कमिटि सदस्य मातृका प्रसाद यादवको पैतृक गाँउमै मधेशी दल जसपाले पार्टी प्रवेशको भब्य कार्यक्रम राखेपछि यादव गाँउमै बसेर क्षेत्र भरिको हाउभाउ बुझिरहेको स्रोतले जनाएको छ ।
पार्टी प्रवेश कार्यक्रममा जसपाका शिर्षनेताहरु उपेन्द्र यादव र राजेन्द्र महतो सहितको उपस्थिती रहने गरि तयारी थालिएको छ । महतोको आउने निश्चित भएको छ भने यादवको समेत उपस्थिती रहने गरि तयारी भइरहेको छ । जसपाका शिर्षनेताहरु आएर संगठन कमजोर रहेको क्षेत्रमा भब्य पार्टी प्रवेशको तयारी गर्न थालेपछि नेकपा र कांग्रेसलाई तनाव भएको छ । नेकपा नेता यादव गाँउमै बसेर आफनो पार्टीवाट पनि कोहि वाहिरन लागेको छ÷छैन भन्ने कुराको खोजविन गर्नुका साथै जसपाको तयारीको विषयमा बुझिरहेको एक नेकपा नेताले नै बताए । जसपाको सो पार्टी प्रवेशलाई कान्उन्टर गर्न यादवले गत सप्ताह मात्रै पार्टी प्रवेश कार्यक्रम गरि नेकपामा दर्जनौलाई प्रवेश गराउने कार्य तिव्र गरिरहेका छन् ।
कांग्रेसलाई पनि तनाव
उता सो क्षेत्रमा राम्रो संगठन रहेको कांग्रेसलाई पनि तनाव छ । मधेशीवादीको मजबुत संगठन नै नरहेको क्षेत्रमा उनकै पार्टीका प्रभावशाली नेता दिपक कार्कीलाई उम्मेदवार बनाएर तत्कालिन फोरम नेपालले निकटतम प्रतिस्पर्धाको मत ल्याएकाले समेत पार्टी प्रवेश कांग्रेसको लागि पनि उत्सुकताको विषय छ । जसपाले कांग्रेस र नेकपावाट क–कसलाई तान्ने हो भन्ने तथ्य नेकपा र कांग्रेसले खोजिरहेका छन । कांग्रेसका सो क्षेत्रका अगुवा नेता आनन्द प्रसाद ढुङ्गानाले आफना निकटका नेताहरु परिचालित गरि सो तथ्य पता लगाइरहेका छन् ।
फोरमवाट कार्की शसंकित
नेपाली कांग्रेसमा आफनो महत्वपुर्ण जवानी बिताएका दिपक कार्की नेता आनन्द प्रसाद ढुङ्गानाको अगाडि टिकट पाउने सम्भावना न देखेपछि तत्कालिन फोरम नेपाल छिरे र उम्मेदवार बने । पहाडी भाषी भएर पनी उनी मधेशी दलको उम्मेदवार बने र त्रिपक्षीय प्रतिस्पर्धामा दोस्रो स्थान ल्याए । कांग्रेसका प्रत्यासी ढुङ्गाना पनि पहाडी भाषी भएकाले कार्कीलाई पहाडी मत खासै परेन तर मधेश मुद्दाका समर्थकहरुले उनलाई मतदान गरेर पहाडी भाषी भएपनि निकटतम प्रतिद्वन्द्वीको रुपमा स्थापित गरे ।
तर कार्कीको हारलाई अन्य कोणवाट पनि बिश्लेषण भयो । सप्तरीमा फोरम अध्यक्ष उपेन्द्र यादव र सो क्षेत्रवाट नेकपा उम्मेदवार मातृका प्रसाद यादव गोप्य मिलिभगत गरि आ–आफनो विजयी सुनिश्चित गरि कार्कीलाई फोरमका क्षेत्रका अगुवा नेताहरुले नै समेत मत नदिएकाले कार्की पराजित भएको विश्लेषण पनि फोरम भित्रै भयो र बैठकमा छलफल पनि चलेको तत्कालिन फोरमकै एक नेताले बताए । त्यसपछि कार्की आफुलाई प्रयोग गरेको भन्दै फोरमका नेताहरुसंग असन्तुष्ट बनेको बताइन्छ ।
कार्कीको राम्रो सम्बन्ध रहेको राप्रपा नेता तथा पुर्व प्रधानमन्त्री स्व. सुर्य बहादुर थापाका पुत्र शुनिल बहादुर थापा आफनो दलबल सहित कांग्रेसमा प्रवेश गरिरहँदा कार्की समेत उनीसंगै पुनः कांग्रेस प्रवेश गर्ने हल्ला चल्यो तर आधिकारिक रुपमा सो नदेखिएपनि कार्की थापाको सम्र्पकमा रहेको र हेर र प्रतिक्षा गर्को अवस्थामा रहेको बताइन्छ । तर अव फोरम र राजपा मिलेकाले अव आफुसंग अन्याय नहुने पक्षमा कार्की पुगेको स्रोतको भनाई छ किनकी तत्कालिन राजपा पक्षले समेत अव त्यहाँ दखलअन्दाजी गर्ने विश्लेषण गरिन्छ । यद्यपि फोरमवाट सो क्षेत्रमा मधेशी समुदायकै समेत उम्मेदवारहरु लाइनमा रहेकाले कार्की साइड हुने पनि आंकलन गरिन्छ त्यसैले पनि उनी हेर र प्रतिक्षा गर्को अवस्थामा रहेको बताइन्छ ।
यस्तो छ क्षेत्रको नालीवेली
धनुषा क्षेत्र नं. १ नेकपा र कांग्रेसको मजबुत संगठन भएको क्षेत्र हो । तर गत आम निर्वाचनमा त्रिकोणिय प्रतिस्पर्धामा मधेशीदल फोरम आएपछि त्यहाँ मधेशी दलले समेत आफनो संगठन विस्तारका साथै शक्ति सञ्चय गर्ने दाउमा लागेका छन् । यस अघिको मत मधेश र मधेशवाद तथा मधेश आन्दोलनको ह्वीमको कारण र नेकपा तथा कांग्रेस प्रतिको बितृष्णाको कारण आएपनि अव सो मतलाई सम्मान गर्दै जसपा सो क्षेत्रमा आफनो अस्तित्व निर्माणमा लागेको विश्लेषकहरुको भनाई छ ।
गत आम निर्वाचनमा सो क्षेत्रवाट निवार्चित नेकपाका यादव २६४१४, फोरमका कार्की १७२८१ तथा कांग्रेसका ढुङ्गाना १५५१८ मत ल्याएका थिए । सो क्षेत्रमा राप्रपाको पनि राम्रै मत छ । तर कार्कीको सो मत संगठन भन्दा पनि कांग्रेस र नेकपा प्रतिको बितृष्णा र मधेश आन्दोलनको सम्म्मानका रुपमा रहेकाले मधेशी दल अव संगठन बनाएरै सो मतलाई बचाउने प्रयासरत छन् । यद्यपि राजपा र फोरम बिचको आन्तिरक बिबाद समेत हुन सक्ने भएकाले जसपालाई सो क्षेत्रमा निर्णायक सांगठन बनाउन भने एकदमै कसरत गर्नुपर्ने आवयश्कता देखिन्छ ।