एसपी रिपोर्टर
काठमाणडौँ , चैत ६ : नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने विषयमा आफूले व्यक्त गरेको अभिव्यक्तिप्रति क्षमायाचन गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभा बैठकमा घिमिरेले आफ्नो भनाइका कारण उत्पन्न नकारात्मक असरप्रति दु:ख व्यक्त गर्दै क्षमा मागेका हुन्।
उनले चैत ३ गतेको प्रतिनिधिसभा बैठकमा नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने धारणा राखेका थिए। तर बुधबारको बैठकमा उनले उक्त अभिव्यक्ति आफ्नो व्यक्तिगत धारणा भएको र पार्टी तथा संसदीय दलको आधिकारिक धारणा नभएको स्पष्ट पारे।
“मैले चैत ३ गते विशेष समयमा व्यक्त गरेको धारणा नेपाली कांग्रेस र संसदीय दलको आधिकारिक धारणा होइन। मेरो भनाइले संसद् सदस्यहरू र आम जनसमुदायमा नकारात्मक असर परेको भए म उहाँहरूप्रति सम्मान व्यक्त गर्दै क्षमा याचना गर्न चाहन्छु,” घिमिरेले भने।