एसपी रिपोर्टर
काठमाणडौं, चैत ५ : सुन तस्करी प्रकरणमा पाँच वर्ष जेल बसेर छुटेका एक व्यक्ति फेरि पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ निवासी ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामा रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रसुवा नाकामार्फत ट्रकमा युरो र अमेरिकी डलर सहित ठूलो मात्रामा विदेशी मुद्रा ओसारपसार भइरहेको सूचनाका आधारमा उनलाई गएराति पक्राउ गरेको हो।प्रहरीका अनुसार बरामद विदेशी मुद्रा नेपाली रुपैयाँमा रूपान्तरण गर्दा २५ करोड १ लाख ६० हजार ३३८ रुपैयाँ हुन आउँछ। मंगलबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा प्रहरीले यसबारे जानकारी गराएको हो।विशेष सूचनाका आधारमा प्रहरीले राजधानीको झोरबाट ना ७ ख १६५२ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो। ट्रकमा फल्स बटम (गुप्त भण्डारण) बनाएर रकम लुकाई केरुङतर्फ लैजाने तयारी भइरहेको बेला प्रहरीले पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका कुसाङ लामा भरियाको रूपमा प्रयोग भएको खुलेको छ। उक्त रकम अवैध सुन किन्नका लागि चीनतर्फ तस्करी भइरहेको आशंका गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ।