एसपी रिपोर्टर
काठमाण्डौं, बैशाख २१ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनु पर्ने माग राख्दै आएका नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकटका नेताहरुसँग छलफलमा जुटेका छन् । कोटेश्वरस्थित आफ्नै निवासमा आइतबार वरिष्ठ नेता नेपालले आफू पक्षीय नेताहरुसँग छलफल गरिरहेका छन् । शनिबारको सचिवालय बैठकले आगामी २५ गते स्थायी कमिटीको बैठक बोलाएपछि नेता नेपालले आफूनिकटका स्थायी कमिटीका नेताहरुलाई बोलाएर रणनीति तय गर्न छलफलमा जुटेका हुन् ।
ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पदबाट सचिवालयबाट राजीनामा गराउने गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु एकजुट भएपनि सचिवालय हिजोको सचिवालयको बैठकमा राजीनामाको विषयमा छलफल भएको थिएन । शनिबारको सचिवालय बैठकले नेकपाको विवाद केही समयका लागि अन्त्य भएको भन्ने विश्लेषण भइरहेका बेला नेपालले छुट्टै रणनीति बनाउन आफू पक्षीय नेताहरुसँग परामर्श जारी राखेका छन् । स्रोतका अनुसार नेपालले स्थायी कमिटी बैठकमा ओलीको राजीनामाको विषयलाई उठाउने तयारी गरेका छन् ।