एसपी रिपोर्टर
काठमाण्डौं, वैशाख १८ : रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम बिष्फोट हुँदा चार बालबालिकाको मृत्यु भएको खवर छ । बम बिस्फोट हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ७ बस्ने १४ वर्षीय नोखिराम डाँगी, ११ वर्षकी विमला खत्री, ५ वर्षका विजय खत्री र १३ वर्षका गौरव नेपालीको मृत्यु भएको हो ।
प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले घटनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली पठाइएको जानकारी दिए । उनका अनुसार राखिएको बेबारिसे बम खेलाउँदा खेलाउँदै बालबालिकाको मृत्यु भएको सूचना आएपछि प्रहरी पठाइएको हो । गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बाख्रा चराएर घर फर्किरहेका बालबालिका बम बिस्फोटनमा परेको बताएका छन् । बिहीबार साँझसम्म रोल्पाको जुँगारबाट प्रहरी सहायक निरीक्षकको टोली घटनास्थलमा पुगेको छ । बिस्तृत विवरण आउन वाँकी छ ।