एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १५ : १६ औं गणतन्त्र दिवसको अवसरमा राजा माथि बम प्रहार गरेका प्रथम गणतन्त्रवादी शहीद दुर्गानन्द झाको अष्टधातुबाट निर्मित पूर्णकदको शालिक अनावरण गरिएको छ । गणतन्त्रका लागि तत्कालिन राजा महेन्द्र उपर जानकी मन्दिर प्राङ्गणमा बम प्रहार गरि विरता देखाएका र तत्कालिन शासक समक्ष नझुकेर आफनो ज्यानको आहुती दिएका अमर शहीद दुर्गानन्द झा स्मारक निर्माण समिति द्वारा जनकपुरधाम २३ लादो स्थित सोनासती माईस्थान मन्दिर छेउमै जलेश्वर र जटही मोडने छ लेनको सडक बिचमा शहिद झाको शालिक अनावरण गरिएको हो ।
१६ औं गणतन्त्र दिवसका दिन सोमवार शालिक अनावरणका लागि आयोजना गरिएको समारोहमा स्मारक निर्माण समितिका अध्यक्ष समेत रहेका दुर्गानन्दका सहयात्री प्रेस तथा प्रजातन्त्र स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार राजेश्वर नेपालीले वहाँको पूर्ण कदको अष्टधातुको छ फिटको प्रतिमा तयार भएको दश वर्षपछि आज उहांको शालिक अनाबरण भएकोमा हर्षविभोर भएको भन्दै खुशी व्यक्त गरेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रका अथक योद्धा राजेश्वर नेपालीले अमर शहीद दुर्गानन्दको बलिदानी दिवसलाई राष्ट्रव्यापीरुपमा मनाउन र सोबाट दलहरुले शिक्षा लिन आवश्यक रहेको बताए ।

उनले दुर्गानन्दकै कारण देशमा गणतन्त्र भएको जिकिर गर्दै वहाँको नाममा राष्ट्रिय राजमार्गको नामाकरण तथा संग्रहालय स्थापना गर्न सरकारसंग जोडदार मांग गरेका छन् । उनका भावनाहरु उनका सुपुत्र समेत रहेका जनकपुरधाम वडा न.ं २३ का वडा अध्यक्ष राघवेन्द्र साहले पढेर सुनाएका थिए । नेपाली विरामी परेर बोल्न असमर्थ अवस्थामा छन् ।

सो कार्यक्रममा पुर्वमन्त्री तथा प्रदेश सांसद रामसरोज यादव, प्रदेश सांसद दिपेन्द्र कुमार ठाकुर, जीउंदो शहीद ललन चौधरी, धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, धनुषाका प्रहरी प्रमुख एसपी बिश्वरावज खडका, जनकपुरधाम वडा नं. २३ का वडा अध्यक्ष राघवेन्द्र साह, केवल शर्मा, नेपाल प्रेस यूनियनका पूर्व केन्द्रिय सदस्य श्रीनारायण साह धनुषाका लगायतका बुध्दिजीविहरुले दुर्गानन्दको योगदानमाथि प्रकाश पारेका थिए ।
वरिष्ठ पत्रकार नेपालीको हात समाएर उनीहरुले सामुहिक रुपमा शालिकको अनावरण गर्नुका साथै शालिकमा माला लगाएर शहिद झा प्रति सम्मान र श्रद्धाञ्जली अर्पण गरिएको छ । विशेश्वप्रसाद कोईरालाको नेतृत्वको सरकारलाई तत्कालिन राजा महेन्द्रव्दारा वि.सं.२०१७ सालमा प्रजातन्त्रको हत्या गरिएको एक वर्षपछि वि.सं. २०१८ साल माघ ९ गते राजा जनकपुरधाम आउंदा १९ वर्षीय युवा नेता दुर्गानन्द झाले जानकी मन्दिर प्रांगनमा राजा सवार गाडीमाथि बम प्रहार गर्दा राजा बल्ल बांचेका थिए र दुर्गानन्दलाई सुरक्षाकर्मीले पक्राउ गर्न सकेन ।

वहाँको नाममा पक्राउ परेका अन्य साथीहरुमाथि बर्बर्तापूर्ण यातना दिएको सुनेपछि स्वयं २०१८ साल वैशाखमा दुर्गानन्दले आफै गिरफ्तारी दिएका थिए । वि.स..२०२० साल माघ १५ गतेको रातिमा काठमाण्डौस्थित सुनधारा केन्द्रिय कारागारमा फाँसी झुण्ड्याई गोली हानेर मृत्यु दण्ड दिइएको थियो । उहांले हातमा गीता पुस्तक लिएर हांसी हांसी प्रजातन्त्रका लागि मृत्यु बरण गरेका थिए । वहाँ धनुषाको जटही निबासी पिता देवनारायण झा र माता सुकुमारी देवी झाका एक मात्र सन्तान थिए ।