एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ९ : राहतमा कुहिएको दाल बिक्री गरेको आरोपमा मंगलवार बाराको कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय पक्राउ परेका छन् । यसअघि पक्राउ परेका वडा अध्यक्ष, सचिव सहित ९ जना सवैले मेयर रायको कोल्ड स्टोरबाट दाल खरिद गरेको बयान दिएपछि उनलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता नायव प्रहरी उपरिक्षक गौतम मिश्रले बताएका छन् ।
डिएसपी मिश्रको अनुसार कुहिएको दाल बेचेको घटनामा संलग्न ९ जना यसअघि नै पक्राउ परिसकेका छन् ।
यसअघि वडा अध्यक्ष पाँचजना, एक वडा सचिव, दुईजना गोदामका मुनसिव र एकजना दालधनी गरि ९ जना पक्राउ परेका थिए । आज कलैया बजारवाट विहान ११ बजे मेयर रायलाई पक्राउ गरिएको डिएसपी मिश्रले बताए । यसअघि कलैया–१ का वडाध्यक्ष हरिओम साह, वडा नं. ७ का अध्यक्ष सर्फुल्लाह अन्सारी, कलैया–२० का वडा सचिव खेदु मियाँसँगै कलैया–७ स्थित यादव आइस एन्ड कोल्डस्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जस्थित धनलक्ष्मी दाल मिलका सञ्चालक तेजकरण जैनलाई नियन्त्रणमा लिइएको थियो । जैन कुलेश्वरमा व्यापार र किर्तिपुर बस्दै आएका भारतिय नागरिक हुन । त्यस्तै यसै प्रकरणमा वडा नम्बर ११ का अध्यक्ष सर्वनारायण चौधरी, वडा नम्बर १३ का अध्यक्ष राजनप्रसाद कुर्मी र वडा नम्बर २६ का अध्यक्ष महेश साहलाई पनि पक्राउ गरिएको थियो ।

त्यस्तै प्रहरीले दुई पटक गरी कलैया उपमहानगरपालिका ७–मा रहेको यादव आइस एन्ड कोल्ड स्टोरमा रहेको गुणस्तरहीन ३२ हजार किलो दाल सिल गरेको थियो । कुहिएको दाल बिक्री गरेको पाइएपछि स्थानीय प्रशासनले कलैया उपमहानगरपालिका–७ स्थित यादव चिस्यान गोदाम (कोल्ड स्टोर) मा शनिबार शिलबन्दी गरेको थियो । कांग्रेसका नेता तथा पूर्वसांसद राधेचन्द्र यादवको नाममा रहेको यो गोदाम कलैया उपमहानगरपालिकाका मेयर राजेश रायले सञ्चालन गर्दै आएका छन् । उनी यादवका छोरा हुन् ।