एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ५ : धनुषाका वरिष्ठ पत्रकार दिलिप घिमिरेको २०७८ जेठ ५ गते बुधबार विहान निधन भएको छ । ६३ वर्षीय पत्रकार घिमिरेको क्यान्सर रोगका कारण काठमाण्डौमा निधन भएको हो । प्रदेश २ को हतिसर्वा महोत्तरिमा २०१४ जेठ १४ गते माता शोभा देवि र पिता छबिन्द्र घिमिरेको कोखबाट जेठो सन्तानको रुपमा जन्मीएका घिमिरेले २०३२/३३ सालमा जनकपुरधामबाट पत्रकारिता आरम्भ गरेका थिए ।
घिमिरेले जनकपुरवाट कुलदिप प्रसाद कुमुदको प्रकाशन/सम्पादनमा रहेको ज्योति साप्ताहिक र काठ्माण्डौबाट प्रकशित हुने मातृभुमि र समिक्षा साप्ताहिकबाट पत्रकारिता आरम्भ गरेका थिए । २०३८ सालबाट आफ्नै प्रकाशन÷सम्पादनमा ‘हिमज्योति साप्ताहिक’ प्रकाशनमा ल्याएका उनको सो साप्ताहिकको प्रकाशन अहिले सम्म निरन्तर जारी छ ।
वरिष्ठ पत्रकार घिमिरे बाम विचारधाराका थिए भने पञ्चायती ब्यवस्थाको घोर बिरोधी पनि । पञ्चायत ब्यवस्थाको बिरोधमा उनले लेखेको समाचार समिक्षा÷मातृभूमि साप्ताहिकमा प्रकाशित भएपछि २०३५ सालमा उनलाई पञ्चे शाषकले पक्राउ गरेर राजकाज मुद्धा चलाएको थियो । उनको हत्या सम्मको योजना बनाइयो तर उनी मृत्युको मुखबाट बाँचेर घर फर्किन सफल भए ।
२०४६ सालमा प्रजातन्त्रको पुर्नवहालीका लागि भएको आन्दोलनमा घिमिरे गान्धीवादी नेता महेन्द्रनारायण निधि, काँग्रेसकी नेतृ लिला कोईरालासंगै थुनामा परे । प्रजातन्त्रका लागि उनको योगदानलाई सम्मान गर्दै नेपालका अन्तिरम सरकारका प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईले घिमिरेलाई सम्मानित गरेका थिए । ३० वर्षभन्दा बढी पत्रकारिता गरेको भन्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाले समेत उनलाई सम्मान गरिसकेको छ ।