एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक १५ : चलचित्रहरुमा एक दिनका लागि मन्त्री र मुख्यमन्त्री बनेको घटना र दृश्य अहिलेको ‘भर्चुअल’ समाजका लागि नौलो होइन । यस्ता पटकथाहरु सहितको काल्पनिक चलचित्रहरु तपाई हामिले नदेखेको पनि होइन । तर जव धनुषाकी एक १८ वर्षिय किशोरी साच्चै मन्त्रीको कुर्सीमा बसिन उनमा बेग्लै आत्मवल देखियो ।
बुधवार पृथक दृश्य देखियो । मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवको कुर्सीमा एक किशोरी बसिरहेको र मन्त्री यादव छेउको समान्य कुर्सीमा बसिरहेका थिए । धनुषाको जनकनन्दिनी गाउँपालिकाकी १८ वर्षीया किशोरी रजीना खातुनलाई एक घण्टाका लागि शिक्षा मन्त्री बनाइएको रहेछ ।
अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर प्लान इन्टरनेसन नेपालले विकासको कामसहित बालिका, किशोरी तथा महिलाको सशक्तिकरण गर्ने अभियान अन्तर्गत विभिन्न पदहरूमा बालिकाहरुलाई पदासीन गराएर उनीहरूको आत्मबललाई बलियो बनाउने क्रममा सो परिक्षण गरिएको हो ।
मन्त्री यादवले प्रस्तुत परिक्षणले रजीना खातुन मात्र नभई देशमै विभिन्न सरकार र क्षेत्रमा प्रतिनिधित्वका हिसावले सहभागिता पाइरहेकी महिलाहरुमा आत्मवलको विकास गर्न टेवा पुग्ने बताए । एक घण्टाको कुर्सी परित्यागमा आफुलाई कुनै पनि घाटा नहुने थाहा रहेकाले कुनै तनाव नरहेको व्यङ्ग गर्दै मन्त्री यादवले मधेशमा महिला सशक्तिकरण सफल भए मात्र प्रदेश सरकार सफल हुनेमा आफुहरु जानकार रहेको बताए ।
रजीनाका लागि त्यो अकल्पनिय त्यो क्षण मात्र थिएन उनमा पृथक हौसला र आत्मबिश्वास पनि थियो । उनले आफु घर गएर बुवाआमालाई शिक्षा, दक्षता, पहुँच र सफलताको बारेमा ज्ञान दिने भन्दै आफनो खुट्टामा उभिएपछि मात्र विवाह गर्नेमा दृढ भएको बताइन ।
रजीनाका लागि मन्त्री यादवले कुर्सी छोडदै गर्दा उपस्थित बालबालिकाले ताली बजाए । मन्त्रालयको बारेमा जान्दै नजानेकी किशोरी मन्त्री, सरकार र कार्यसम्पादनमा कर्मचारीको भुमिका बारे पनि जानिन । कलिलो उमेरकी किशोरी अर्कोतर्फ सीमान्तकृत मुस्लिम समुदायकी र त्यसमा पनि फरक क्षमता भएकी । अहिलेसम्म सो समुदाय र वर्गबाट कुनै पनि महिलाले मन्त्री बन्ने अवसर पाएकी छैनन् । किशोरी सशक्तिकरणको एक नियमित अभियान अन्तर्गत गरिएको अभ्यासका क्रममा मन्त्रीको हैसियतमा रजीनाले मन्त्रालयका योजना, गतिविधि र कार्यक्रमबारे जानकारी लिनाका साथै सहभागी अन्य सहकर्मीबाट प्रश्नोत्तर शैलीमा जिज्ञासा समेत सुनिन् ।
जवाफमा मन्त्रीको हैसियतामा रजीनाले भनिन्, “मन्त्रालयका योजना सुनेर मलाई खुसी लागेको छ । तर हाम्रो गाउँघरमा सामुदायिक विद्यालयको अवस्था नाजुक छ । पर्याप्त कक्षाकोठा, टेबुल कुर्ची, शौचालय छैनन् । किशोरीहरुलाई महिनावारी भएका बेला विद्यालय जान निकै कठिन भइरहेको छ । प्याड दिने भनिए पनि हामीले आवश्यकता अनुसार पाएका छैनौँ । त्यसकारण भौतिक पूर्वाधार र गुणस्तरीय शिक्षण सिकाइमा विशेष ध्यानदिन म आग्रह गर्दछु ।”
एकदिने मन्त्री बनेकी रजीना जनकनन्दिनी गाउँपालिकास्थित श्री राष्ट्रिय मावि कक्षा ९ की छात्रा हुन् । शारिरिक रुपमा अपाङ्गतासमेत रहेकी खातुन स्थानीयस्तरमा बालविवाह नियन्त्रण, छोरीलाई शिक्षा, सामाजिक कुरीति तथा कुसंस्कारविरुद्ध एक अभियानीका रुपमा पनि परिचित छिन् ।





