एसपी रिपोर्टर
नवलपरासी,चैत ४ : ११ महिनाअघि मलेसियामा हत्या भएकी नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती-४ की तिलमाया सार्कीको शव आज नेपाल ल्याइने भएको छ।
रोजगारीका लागि मलेसिया गएकी २५ वर्षीया तिलमायाको पाकिस्तानी नागरिकद्वारा हत्या भएपछि परिवारले शव ल्याउन लामो समयसम्म संघर्ष गरेको थियो। हत्याको अनुसन्धान नसकिएको भन्दै मलेसियाले शव पठाउन ढिलाइ गरेको थियो।थुप्रै प्रयासपछि शव अन्ततः नेपाल ल्याउन लागिएको सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) की परामर्शदाता रञ्जना लम्सालले जानकारी दिइन्। उनका अनुसार शव बोकेको विमान सोमबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।शव नेपाल ल्याउन लागेपछि तिलमायाकी दिदी नीलमाया सार्की काठमाडौँ गइसकेकी छन्। शव ल्याउने खर्च मलेसियन कम्पनीले बेहोर्ने र वैदेशिक रोजगार बोर्डले निःशुल्क शववाहन उपलब्ध गराउने भएको छ। शव सोमबार रातिसम्म तिलमायाको माइतीघर कावासोती-४ हसौरामा आइपुग्ने लम्सालले बताइन्।
तिलमायाको परिवारले पाउने आर्थिक सहायताका लागि वैदेशिक रोजगार बोर्डमा निवेदन दिइसकिएको र बाँकी कागजात शवसँगै आउने उनले जानकारी दिइन्।