एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १५ :
धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुल मुनि फेला परेको शव ३३ वर्षीय शहिद अन्सारीको भएको पुष्टि भएको छ। अनुसन्धानअनुसार, अन्सारीको अनिता कुमारी यादवसँग दुई वर्षदेखि प्रेम सम्बन्ध थियो। कतारमा काम गर्ने अन्सारीले उनलाई पैसा पठाउने गरेका थिए।
अनिताले श्रीमती बिरामी रहेको नक्कली रिपोर्ट पठाएर अन्सारीलाई नेपाल बोलाइन्। २०८१ मंसिर २७ गते अनिता र उनका श्रीमान् राजकिशोर यादवले उनलाई आफ्नै घरमा बन्धक बनाई बन्चरोले हत्या गरे। शव जुटको बोरामा पोको पारेर खोलामा फालिएको थियो।
माघ १० गते मृतककी श्रीमतीले प्रहरीको फेसबुक पोस्टबाट श्रीमान् भएको पहिचान गरेपछि अनुसन्धान अघि बढ्यो। प्रहरीले अनितालाई गाउँबाट पक्राउ गरी अनुसन्धान थालेको छ, भने उनका श्रीमान् राजकिशोर हत्यापछि साउदी अरब फर्किएको खुलेको छ। उनलाई नेपाल फर्काउन कानुनी प्रक्रिया अघि बढाइएको छ।