एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १२ : महोत्तरीमा प्रहरीको गोली लागेर एक किशोरको मृत्यु भएको छ । किशोर लागुऔषध कारोवारी भएको दाबी प्रहरीको छ । लागुऔषधध कारोबारीलाई पक्राउ गर्न गएको प्रहरीले ट राउन्ड ह हवाय फायर गरेकोमा गोली लागेर रामगोपालपुर नगरपालिका ७ सहसौलाका सुरेन्द्र यादवका १६ वर्षीय छोरा राजन यादवको मृत्यु भएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।
खुट्टा र तिघ्रामा गोली लागेर गम्भीर घाईते भएका किशोरको उपचारको क्रममा आइतबार राति ११ बजे जलेश्वर अस्पतालमा मृत्यु भएको हो । मृतक किशोरको शव पोष्ट मार्टमको लागि जलेश्वर अस्पतालमा राखिएको छ । घटनाको आरोपमा दुईजनालाई पक्राउ गरिएको एसपी अधिकारीले जानकारी दिए । पक्राउ पर्नेमा सोही ठाउँका २७ वर्षीय राहुलकुमार यादव र ४५ वर्षीय सुरेन्द्र यादव छन् । सुरेन्द्र मृतक किशोरका बुवा हुन् ।
एसपी अधिकारीका अनुसार घटनास्थलमा चारजना लागुऔषध कारोवारी थिए । सुरुमा घटनास्थलमा सादा पोशाकका चार प्रहरी पुगेका थिए । प्रहरी पुगेपछि चार कारोबारीमध्ये एकजना फुत्केर भागेका थिए। फुत्केर भागेका युवाले एकहुल मानिस ल्याएर प्रहरीमाथि आक्रमण गर्न लगाएका एसपी अधिकारीले बताए ।
लागुऔषध कारोबारीको आक्रमणबाट चार प्रहरी सख्त घाइते भएका अधिकारीले बताए । घाइते हुनेमा प्रहरी हवल्दार संजीव पासवान तथा जवानहरु मनोज साह, राम विहारी पासवान र लालबावु यादव छन् । उनीहरुलाई टाउको, हात, छाती तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरु सबैको जलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।