एसपी रिपोर्टर
जनकपुरधाम, पुस २ :
धनुषाको विदेह नगरपालिकामा महिलाको विभत्स हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । विदेह नगरपालिका वडानम्बर ५ मुरिबा टोलकी ४० वर्षीया रामपरी देव ठाकुरको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोही वडाका सगमलाल पासमानलाई पक्राउ गरेको हो ।
आपसी विवादका कारण रामपरीको विभत्स हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । टाउको छेदिएको अवस्थामा रामपरीको शव घरभन्दा करिब डेढ किलोमिटर टाढा स्थानीय एक व्यक्तिको खेतमा फेला परेको थियो भने टाउको कमला नदीको नहरमा भेटिएको थियो । शरीर नग्न अवस्थामा रहेकाले बलात्कार गरी पासमानले उनको हत्या गरेको हुन सक्ने अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।
प्रहरीले हत्याको समयमा प्रयोग गरेको पैन्ट, टिसर्ट र ज्याकेट रगत लागेको अवस्थामा पासमानकै घरबाट बरामद गरिएको प्रहरी उपरीक्षक तिवारीले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भईरहेको उनले बताए ।