एसपी रिपोर्टर
जनकपुरधाम, असोज ७ : धनुषामा ट्राफिक प्रहरी प्रमुख भएर समेत काम गरिसकेका वतर्मान प्रहरी प्रमुख प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीलाई चुनौती दिदै जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् । घटना पछि एसपी तिवारी जिल्ल परेका छन् । उनी पत्रकारहरुसंग बोल्न पनि नमानिरहेको र अनुसन्धानको विषय भन्दै पत्रकारलाई जिप्रका प्रवेशमा समेत निषेध गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवामा विभिन्न मुद्दामा पक्राउ परी थुनामा रहेका ८ जना आज विहान करिब ३ः०० बजेको समयमा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रञ्जन आवाले हिरासतबाट ८ जना फरार भएको पुष्टि गरेका छन् । सो मध्ये एक जना जनकपुरको जनकचोकबाट पक्राउ परेको उनले जानकारी दिए । अझै ८ जना फरार रहेका छन् ।
एसपी तिवारीका लागि यो घटना एकदमै चुनौतीपूर्ण छ । आज (सोमबार) बिहान करिव सावा ३ बजेको समयमा हिरासत कक्षको भेन्टिलेशन फोडेर ८ जना थुनुवा फरार भएको हो । फरार मध्येहरुमा ५ जना लागु औषध मुद्दामा अभियुक्तहरु हुन् भने बाँकी ३ जना अभद्र व्यवहार मुद्दाका थुनुवा हुन् ।
उनीहरुमध्ये अभद्र व्यवहारको महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ५ बस्ने श्याम झा भने जनकचोकबाट पक्राउ परिसकेका छन् । अमित कुमार झा, रँजीत मण्डल, रोशन मण्डल, भास्कर यादव, विशाल मुखिया लागु औषध मुद्दाका थुनुवा हुन । यस्तै, सुमित मेस्तर, मनिष मण्डल र विक्की कार्की अभद्र व्यवहार मुद्दाका अभियुक्त हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाको नयाँ भवनको १० फिटमाथि पुगेर भेन्टिलेटरको रड काटेर थुनुवाहरु फरार भएका हुन् । थुनुवाहरुले रड काट्न ह्याक्सो ब्लेडको प्रयोग गरेका थिए। थुनुवा कक्षमा रड काट्न ह्याक्सो ब्लेडको पहुँचमा कसरी उनीहरु पुगे भन्ने बारेमा अनुसन्धान भइरहेको डिएसपी रञ्जन अवाले जानकारी दिए ।
थुनुवाहरुको कक्ष सम्म रड काट्न प्रयोग हुने ह्याक्सो ब्लेड पुग्नु, घण्टौंसम्म रड काट्न समय लाग्ने भएपनि प्रहरीले सुईको सम्म नपाउनु जस्ता विषय शंकास्पद रहेको छ ।