एसपी रिपोर्टर
जनकपुरधाम, वैशाख १२ : नापी कार्यालय धनुषामा कार्यरत कर्मचारीमाथि एक सेवाग्राहीले हातपात गरेका छन् । मंगलबार दिउँसो जनकपुरधामका लटु यादवले केही व्यक्तिको समूहमा आएर एकाएक नापी कार्यालयका नापी अधिकृत दिलिप साह र प्रदीपमाथि हातपात गरेका हुन् । आफूमाथि हातपात भएको सूचना अधिकारीसमेत रहेका अधिकृत साहले आरोप लगाए ।
नापी कार्यालय धनुषाका प्रमुख सुमनकिशोर मिश्रले लटु भन्ने व्यक्तिले बिना सरजमिन काम गर्न आफूहरूलाई दबाब दिएको र आफूहरूले सरजमिन नगराई काम नहुने बताएको बहानामा कर्मचारीमाथि हातपात गरेको बताउनुभयो ।

लटु यादवले आफ्नो ससुराको जग्गाको पूर्जा बिना सरजमिन बनाई दिन भनेको बताइएको छ । फिल्डबुकमा लटु यादवका ससुरा रामश्रेष्ठ यादवको नाममा जग्गा रहेपनि त्यो पाना काटिएकाले त्यसलाई सच्याउन सरजमिन गर्नैपर्ने अडान लिएपछि हातपात गरिएको नापी कार्यालयका कर्मचारीहरूले बताएका छन् । यसैबीच, कर्मचारीमाथि हातपात र अभद्र व्यवहार गर्नेमाथि सार्वजनिक अपराधको मुद्दा दिने तयारी गरेकोसमेत कार्यालयका प्रमुख मिश्रले जानकारी दिनुभएको छ ।